
काठमाडौं : दूध र पानीको स्वच्छता तथा गुणस्तर कायम गराउन तत्काल अपनाउन सकिने उपायमा काम थालनी गर्न बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ। आइतबार काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समितिको बैठकले अनुगमनबाट प्राप्त अवस्थाका विषयमा जानकारी लिएपछि कृषि तथा पशुपंक्षी विभागका अधिकारीलाई कामका लागि निर्देशन दिएको हो।
बजारबाट संकलन गरिएका नमूना परीक्षणका लागि महानगरले आफ्नै प्रयोगशाला स्थापना र सञ्चालनका लागि तत्काल काम थालनी गर्न समितिले निर्देशन दिएको छ।
डेरीहरुबाट प्लाष्टिकमा राखेर, रवरले बाँधेर बेचिने दूधको गुणस्तर कति हो थाहा नहुने भएकाले खुल्ला बिक्री गर्न नदिने महानगरले जनाएको छ। बैठकमा सहभागीले भने,‘दूधमा चिल्लोको मात्रा वा अन्य आवश्यक गुण कति छ थाहा हुँदैन। कहिले उत्पादन भएको हो, भन्न सकिँदैन। तर यस्ता पसलहरु घर भाडामा लिएर, फ्रिज राखेर दूध, दही, मही विक्री वितरण गर्छन्। अर्कोतिर प्याकेजिङ् गरिएका दूधहरु सडक किनारामा बेचिन्छन्। यसलाई व्यवस्थित गरेर दूध तथा दुग्धजन्य खाद्यवस्तुको स्वच्छ सञ्चय तथा विक्री प्रबन्ध मिलाउनु पर्नेमा बैठकका सहभागीहरुले जोड दिनुपर्छ।’
बैठकमा उपमेयर डंगोलले भनिन्, ‘हाम्रो चाहना भनेको स्वच्छ खानेकुराको उत्पादन, ढुवानी, सञ्चय तथा बिक्री प्रणाली मात्र हो। यस प्रणालीमा किसानदेखि व्यापार गर्नेहरु सबैको लाभ हुने व्यवस्था मिलाउनु पर्छ। तर, प्रणाली मिलाउँदा मिलाउँदै बजारलाई अस्वच्छ र उपभोक्ताको स्वास्थ्य, मूल्य र गुणस्तरमा कहीँ कतैबाट गल्ती गर्न पाइँदैन।’
बैठकमा वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले सरकारले वितरण गर्ने पानीको गुणस्तरमा नागरिकलाई विश्वस्त बनाउन सके बजारबाट पानी किनेर खानु नगर्ने बताए। उनले भने, ‘खानेपानी वितरणमा चावी खोल्नेहरुले लापरबाही गर्दा कतै धेरै पानी जान्छ। कतै थोरै जान्छ। कतै पानी नै जाँदैन। यो असन्तुलन कसरी मिलाउन सकिन्छ। साझेदारसँग छलफल गर्नुपर्ने भएको छ। यो पानीको व्यापारसँग जोडिएको विषय हो।’महानगरले अनुगमनका क्रममा चुहिने, कोत्रिएका जार जफत गर्न थालेको छ।
वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धरले दूध बेच्नेहरु करको दायरामा ल्याएर उचित व्यवस्थापन गर्नुपर्ने बताए। उनले भने, ‘प्याकेजिङ् गरिएका दूध किराना पसलहरुबाट विक्री गरिन्छ। विहान उज्यालो नहुँदै सडकमा बेचिन्छ। यसरी दूध बेच्नेहरु करको दायरामा छन् कि छैनन्। यिनीहरुको उचित व्यवस्थापन कसरी हुन्छ, अब छलफल गर्नुपर्छ।’
कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले अनुगमनको क्रममा काठमाडौँमा बेचिने दूधको ७० प्रतिशत भार खुल्ला बेचिने दूधले धानेको पाइएको बताए। उनले भने,‘६५ वटा कम्पनीले जारमा खानेपानीको व्यापार गरेको प्रारम्भिक तथ्याङ्क छ। यसमा महानगरभित्र दर्ता भएका ४ वटा मात्र देखिए।’
झाका अनुसार पानी बिक्रेतामध्ये केहीसँग आफ्नै जार छैनन्। उनले भने,‘केही यस्ता बिक्रेता पनि छन्। जसले पानी बेच्दैनन्। जार मात्र बेच्छन्। यसरी बेचिने जारहरु एकमाथि अर्कोको स्टिकर टाँसिएका हुन्छन्। जार र बोतलको पानीसँगै सहरमा ट्याङ्करबाट पनि पानी बेचिने गरेको छ। यो पानी कहाँबाट उत्पादन हुन्छ? डिप बोरिङ् गर्नेहरुले पानीको शुद्धिकरण कसरी गर्छन्? यस्ता विषयमा अनुगमनबाट यथार्थ अभिलेखन गर्नुपर्छ।’
बैठकमा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले, अनधिकृत व्यक्तिले औषधि पसल सञ्चालन गरेको, अनावश्यक र डाक्टरले नलेखेको औषधि बेच्ने गरेकाले नियमन गर्नुपर्ने बताए। उनले भने, ‘अनुगमन तीब्र बनाउन लागिएको छ। हामीसँग विज्ञहरुको रोष्टर तयार छ। उहाँहरुको विज्ञताबाट अनुगमनलाई नतिजामुलक बनाउँछौँ।’
अन्नपूर्ण