बखतियार अलि–
सर्लाही २१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मलंगवा नगरपालिकाको नगर अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनले रिसेन रायको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरेको हो ।
अधिवेशनमा रास्वपाका मधेश प्रदेश समितिका कोषाध्यक्ष चन्दन साह तेली, संगठन विभागका सचिव सोहन झा, जनसम्पर्क विभाग प्रमुख चन्दन सिंह राजपुत जिल्ला सभापति सरोज बानिया, निर्वाचन समिति संयोजक डा. ईन्द्रजित महतो जिल्ला संगठन विभाग प्रमुख धनुज चौधरीको विशेष उपस्थिति रहेको थियो । उपस्थित नेताहरूले संगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार तथा आगामी संगठनात्मक अभियानलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए ।
मलंगवा नगर अधिवेशनमा भएको निर्वाचनबाट नगर सभापतिमा रिसेन राय निर्वाचित हुनुभएको छ, भने उपसभापतिमा उषा कुमारी यादव, सचिव संजय कुमार यादव र सहसचिवमा राम नारायण सहनी विजयी भएको निर्वाचन अधिकृत धनुज चौधरीले जनाएको छ ।
जम्मा १३ सदस्य नगर कमिटि चयन भएको छ, भने पछि २ जना मनोनित गर्ने चौधरीले बताए । नवनिर्वाचित नगर सभापति रायले मलंगवामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई थप सशक्त, जनउत्तरदायी र संगठनात्मक रूपमा बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले युवाको सहभागिता, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । रास्वपाले देशव्यापी रूपमा पालिका अधिवेशन सम्पन्न गर्ने क्रम जारी राखेको छ । सर्लाही जिल्लाका विभिन्न पालिकाहरूमा अधिवेशनहरू सम्पन्न भइरहेका छन् भने अब छिट्टै जिल्ला अधिवेशन आयोजना गरिने तयारी भइरहेको पार्टीले जनाएको छ ।
नगर अधिवेशनबाट चयन भएका प्रतिनिधिहरूले आगामी जिल्ला, प्रदेश तथा राष्ट्रिय महाधिवेशनमा सहभागी भई पार्टीको भावी नेतृत्व चयन र नीतिगत बहसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । संगठन विस्तार र आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउने उद्देश्यका साथ रास्वपाले देशभर अधिवेशन अभियानलाई तीव्रता दिएको जनाएको पार्टीले जनाएको छ ।

