Loktantra Khabar National Weekly
Ad

मिटर ब्याजी बिरुद्ध मुद्दा दिएको महिनौ भइसक्दा पनि जिल्ला प्रशासनबाट सुनवाइ नभएको पिडितहरुको गुनासो ,प्रशासनको गैरजिम्मेवारीपनका कारण मुद्दा परेका मिटर ब्याजी खुलेआम घुम्दै

लोकतन्त्र खबर
१७ भाद्र २०८०

लोकतन्त्र समाचारदाता–
सर्लाही,भाद्र १७
अनुचित लेनदेनकर्ता अर्थात मिटर ब्याजीबाट पिडित भएका चन्द्रनगर गाउँपालिकाका स्थानीय नागरिकहरु न्यायको लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटर ब्याजी बिरुद्ध मुद्दा दिएको महिनौं दिन भइसक्दा पनि सरोकारवाला निकायले कुनै सुनवाइ नगरेको गुनासो गरेका छन् । जिल्ला प्रशासनमा दर्ता गराएको उजुरीको आधारमा पिडित र पिडक पक्षबीच छलफलको लागि दिइएको समयमा आफुहरु उपस्थित हुँदै आए पनि पिडक मिटर ब्याजी भने विभिन्न बहाना बनाएर एकपटक पनि उपस्थित नभएको पिडितहरुको गुनासो छ।
प्रशासनले दिएको समय अनुसार कयौंपटक छलफलको लागि मलंगवा स्थित सिडियो कार्यालयमा धाइसकेको तर मुद्दा दर्ता गराएको महिनौ दिन भइक्दा पनि प्रशासनले आफ्नो गैरजिम्मेवारीपन र ढिलासुस्तीले गर्दा पिडक पक्षलाई एकपटक पनि उपस्थित गराउन नसकेको उनीहरूले बताएका छन् ।
चन्द्रनगर गाउँपालिकाका दुई दर्जन भन्दाबढी स्थानीयहरुले जिल्लाकै कबिलासी नगरपालिका वडा न-८ अगर्वा घरभइ हाल सदरमुकाम मलंगवामा बस्दै आएका बिकाउ राय यादवसँग लिएकाे ऋण चुक्ता गरिसक्दा पनि जबर्जस्ती तमसुक बनाएर दोब्बर तेब्बर पैसा ब्याजको नाममा असुल्ने गरेको र धितो राखेको जग्गा पनि फिर्ता गर्न नमानेको भन्दै निज उपर जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन सम्बन्धि मुद्दा दर्ता गराएको चन्द्रनगर गापा वडा न-७ बस्ने पिडित विजय भगतले बताएका छन् । निवेदन दिएको केही दिन पछि मिटर ब्याजी यादवलाई पहिलोपटक छलफलको लागि सिडियो कार्यालयमा बोलाउँदा उनी नआए पछि पुनः दोस्रोपटक समय निर्धारण गरेर बोलाउँदा पनि विभिन्न बहाना बनाएर सो दिनपनि उनी नआएपछि पुनः तेस्रो,चौथोपटक गरि कयौंपटक बोलाउँदा पनि उनी हाजिर नभएपछि बाध्य भएर शुक्रवार पत्रकारहरुलाई लिएर अनुचित लेनदेन सम्बन्धि मुद्दा हेर्दै आएका सहायक प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो लिएर पुगेपछि उहाँले बिहिवारको समय दिनुभएको र दिएको समयमा उपस्थित नभएको खण्डमा प्रहरी परिचालन गरेर उपस्थित गराउने आश्वासन दिनु भएको भगतले बताए ।
पीडितलाई न्याय दिलाउने भन्दै गृह मन्त्रालयले आदेश गरेपनि सिडियो कार्यालयले पहुँचवाला ब्यक्तिको मात्र कुरा सुन्ने गरेको र आफूहरू जस्ता गरिब र निमुखा पिडितहरुलाई छलफलको नामना समय मात्र दिएर झुक्याउने एउटा नाटक मात्रै रचेको पीडितहरूले बताएका छन् । मिटर ब्याजी बिकाउले आफुहरू सँग जबर्जस्ती पैसा माग्न नयाँ नयाँ किसिमका तौर तरिकाहरु अपनाउने गरेको पीडितहरुको गुनासो छ ।
चन्द्रनगर वडा न-७ का दिलिप कुमार रायका अनुसार बुवा इन्दल रायले मिटर ब्याजी बिकाउ सँग २०७३ सालमा पोखरी सहितको २३ कठ्ठा जग्गा धितो राखेर श्रृण लिएको र सो बापत २०७६ सालमा चेक द्वारा ७ लाख त्यसपछि २०७७ सालमा २ लाख त्यसपछि विभिन्न समयमा गरि ८ लाख,७ लाख र १८ हजार रुपैया बुझाइसकेको तर निजले पैसा नपाएको भन्दै जग्गा फिर्ता गर्न नमानेको उनले बताए । बुवाको मृत्यु भइसकेकोले म आफै जग्गा फिर्ता गरिदिन भन्दै बिकाउको घरमा पटकपटक धाउँदा पनि फिर्ता गर्न नमानेपछि बाध्य भएर मिटर ब्याजीको मुद्दा दिएको दिलिपले भने। धितो राखेको जग्गा श्रृण चुक्ता गरिसकेपनि फिर्ता गर्नुको साटो लुकाइछिपाइ आफ्नो श्रीमती सीता देवी यादवको नाममा पास गरिसकेकाले अब आफुहरुले न्याय पाउने भन्ने आशनै मेटिसकेको उनले दुखेसो पोखे।
सोही गाउँका अरु पिडितहरुको दुखेसो पनि दिलिपको जस्तै छ। उनीहरुले सावाँ र व्याज बापत तिर्नुपर्ने सबै रकम तिरिसक्दा पनि तिर्न बाँकी नै छ भन्दै मिटर ब्याजी बिकाउ आफुहरुको घरमा पुगिरहने , मान्छे लगाएर घरका सदस्यहरुलाई कुटपिट गर्ने , पैसा नतिरे प्रहरी लगाएर थुन्न लगाउने जस्ता धम्की दिने गरेको बताउँछन।
चन्द्रनगर-७ कै एक पिडित वृद्धा असिया यादवको पनि गुनासो उस्तै छ। छोराले मिटर ब्याजी बिकाउबाट लिएको श्रृण मेहनत मजदुरी गरेर कमाएको पैसाबाट तिरिसकेको भएपनि धितो बापत राखेको जग्गाको लालपुर्जा दिन आनाकानी गरिरहेको बताइन।जग्गा फिर्ता माग्न जाँदा पैसा तिरेको छैनस् पहिला पैसा तिर अनि मात्र जग्गा फिर्ता पाउँछस् भन्दै असुली गर्ने बहानामा कयौंपटक घरमै आएर बिकाउले बिरामी अवस्थाको श्रीमान ,छोरा ,बुहारी लगायत घरका अन्य सदस्यहरुलाई निर्घात कुटपिट गरेको उनले रुँदै दुखेसो सुनाइन्।
उनीहरू त प्रतिनिधि पात्रहरु मात्र हुन। यसरी मिटर ब्याजको जालोमा चन्द्रनगर लगायत सर्लाही जिल्लाका सयौँ पीडितहरू मुद्दा दिएर पनि न्यायको आशामा सिडियो कार्यालय धाइरहेका छन् । सिडियो कार्यालयले पनि पहुँचवाला र बोल्ने मानिसहरुको मुद्दामा मात्र छलफल चलाउने गरेको छ। गरिब र निमुखा पिडितहरु भने कार्यालयको मुख्य गेटबाट समेत प्रवेश गर्न पाइरहेका छैनन् ।
प्रशासनको गैरजिम्मेवारीपन नियतले गर्दा पिडितहरु न्यायको खोजीमा भौतारिन बाध्य छन् भने मिटर ब्याजीहरु खुलेआम रुपमा घुमिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: