लोकतन्त्र समाचारदाता–
सर्लाही १५ कार्तिक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सर्लाही जिल्ला समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टी निर्माण र रूपान्तरणको महाअभियानमा होमिएको नेकपाले आईतवार सदरमुकाम मलंगवा स्थित मलंगवा पार्टी पैलेसमा कार्यक्रम सम्पन्न गरेको हो ।
सर्लाही जिल्ला समितिका संयोजक रामेश्वर प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रमुख अतिथी राष्ट्रिय संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल बिशिष्ट अतिथीको रुपमा उपस्थिती जनाउनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको बताउनु भयो ।
राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र संगठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा संगठनात्मक विशेष अभियानका रूपमा नेकपाले राष्ट्रिय जागरण अभियान सुरु गरेको बताउनु भयो ।
अभियानमा सहभागिताका लागि पार्टीका तर्फबाट अपिल जारी गर्दै संयोजक प्रचण्डले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था रहेको उनको भनाई थियो ।
त्यस्तै सहसंयोजक नेपालले अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मत प्रति असहिष्णु व्यवहार देखाइएको, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रता माथि रोक लगाइएको तथा निजी क्षेत्र र नागरिक अधिकार माथि हस्तक्षेप गरी भय र त्रासको वातावरण सिर्जना गरिएको नेपालले आरोप लगाउनु भयो ।
नेपालले थप्दै पार्टी कार्यकर्ताहरुलाई भने आफ्ना विगतका कामहरूको इमानदारी पूर्वक समीक्षा गरी गल्ती तथा कमजोरी प्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाएर अघि बढ्नु पर्ने आजको प्रमुख आवश्यकता रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा पार्टीका वरिष्ट नेता महेन्द्र प्रसाद यादव, पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटीका सचिवालय सदस्यहरु, निर्वाचन क्षेत्र कमिटीका इन्चार्ज, नगर कमिटीका इन्चार्ज, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्यहरु, केन्द्रीय सल्लाहकारहरुको उल्ल्ेखिय उपस्थिति रहेको थियो । सर्लाही जिल्ला समितिबाट सुरु भएको पालिका स्तरीय एकता कार्यक्रम चाँडैनै सबै पालिकामा हुने र त्यसपछि सबै वडामा वडा स्तरीय एकता कार्यक्रम पनि संचालन हुने जिल्ला समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टीले जनाएको छ ।

