Loktantra Khabar National Weekly
Ad

मलंगवामा सर्वपक्षीय  सद्भाव र्याली निकालियो

लोकतन्त्र खबर
२४ भाद्र २०८०

मनोज यादव-
सर्लाही,भाद्र २४
गत भाद्र २२ गते शुक्रवार साँझ  सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा कृष्ण जन्माष्टमीको मुर्ती विसर्जन गरेर फर्किने क्रममा नगरपालिका कार्यालय अगाडीको मुख्य चौकमा दुई फरक समुदाय बिच उत्पन्न भएको विवादका कारण अशान्त बनेको नगरको अवस्थाको विषयलाई लिएर आज(आइतवार)दिउँसो पुनः तेस्रोपटक जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले थप निर्णयहरु गरेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा बसेको  सर्वदलीय,सर्वपक्षीय समन्वय बैठकले  नगरमा धार्मिक,जातीय ,साँस्कृतिक सद्भाव कायम राख्न सर्वपक्षीय सद्भाव र्यालीको आयोजना गर्ने, सबै क्षेत्रका अगुवाले आ-आफ्नो समुदायलाई संयमता अपनाउन पहल र अनुरोध गर्ने, संयमता नअपनाई आपराधिक क्रियाकलापमा कोही संलग्न हुन गएमा कानुनी कारबाहीको लागि सबै पक्षले सहयोग गर्ने निर्णय गरेको छ।

भाद्र २२,२३ र २४ गतेको घटनालाई व्यवस्थापन गर्न सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद धिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरि आजको दिनदेखि १५ दिन भित्रमा घटना सम्बन्धि सम्पुर्ण सत्यतथ्य सहितको प्रतिवेदन  जिप्रकामा पेश गर्न आदेश दिइसकेको र  सोही प्रतिवेदनको आधारमा कानुनी प्रक्रिया अगाडी बढाइने प्रजिअ यादवले बताउनु भयो ।

बैठक पछि लगत्तै जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट बैठकमा सहभागी भएका सबै समुदायका अगुवा तथा  स्थानीय बुद्धिजीवीहरु धार्मिक सद्भाव कायम गर, हिन्दु मुस्लिम एकता जिन्दावाद लगायतका नाराहरु लगाउँदै सर्वपक्षीय सद्भाव र्याली निकालेर मलंगवा नगर क्षेत्रको परिक्रमा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: