मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान
निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ।
२०७९ वैशाखमा स्थानीय तह निर्वाचन तथा मंसिरमा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त रहेका पदका लागि आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
स्थानीय, प्रतिनिधि र प्रदेश सभामा २३ पद रिक्त छन्। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ को प्रदेश सभा १ मा प्रदेश सभा सदस्य पद रिक्त छ। अन्य स्थानीय तहमा पनि पद रिक्त छन्।
रिक्त रहेका ठाउँमा पदपूर्तिका लागि आयोगले सरकारसँग परामर्श गरी उपनिर्वाचनको मिति तोक्ने आन्तरिक तयारी गरिरहेको पौडेलले बताए।
मिति तोक्नुपूर्व नै आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ। मिति तोकेपछि मतदाता नामावली नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ।
आयोगले नियमित रूपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत् मतदाता नामावली दर्ता गर्ने काम गर्दै आएको छ। सेतोपाटी

