लोकतन्त्र समाचारदाता–
सर्लाही १० भाद्र । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ धूमधामका साथ सर्लाहीका मुस्लिम समुदायले मनाइएको छ । पर्वका अवसरमा मुस्लिम समुदायले तुलब्यानर सहित रैली निकालेर सदरमुकाम मलंगवाको परिक्रमा गरेका थिए ।
बुधवार बिहान नुहाएर सुद्व भएर मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहि आएको छ । हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संम्वतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उहाँको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मद जयन्तीलाई इद मिलादुन नबी र १२ रबी अव्वल पनि भन्ने गरिन्छ । नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद डे भनेर पनि मनाउने गरेको मुस्लिम अगुवा समिरूदिन मिकरानीले बताउनु भयो । मोहम्मद दिवसको दिन इस्लाम धर्मावलम्बीले खुसी व्यक्त गर्दै मोहम्मदका विभिन्न नारा घन्काएका छन् ।
सरकार कि आमद मरहवा, दिलदार कि आमद मरहवा जस्ता नारा रैलीमा लगाएका थिए । मोहम्मद दिवसले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नुका साथै भाइचारा सम्बन्ध कायम हुने बिश्वास रहेको छ ।
मोहम्मद डेका अवसरमा मुस्लिम समुदायहरू गरिब तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगन सरसफाइ गर्ने, घरमा इस्लामिक झण्डा फहराउने, दीप–प्रज्वलन गर्ने जस्ता कार्य गर्ने गरेको मुस्लिम अगुवाहरूको भनाइ छ ।
इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै आएकोछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उनको उपदेशलाई मुस्लिम समुदायले स्मरण स्वरूप मुहमद डे लाई हर्सोउल्लासका साथ मनाउदै आएका छन ।

