Loktantra Khabar National Weekly
Ad

झडप भएपछि एमाले धादिङको अधिवेशन अनिश्चितकालका लागि स्थगित

लोकतन्त्र खबर
२१ माघ २०८०

काठमाडौं  माघ २१, नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन बन्द सत्र सुरु हुनुअगावै स्थगित भएको छ ।

बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरेका हुन् ।

अध्यक्ष ढुंगेलका अनुसार अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्‍य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको र त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।

उनले जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीले अधिवेशनमा जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्दा असहज अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखा पर्‍यो,’ अध्यक्ष ढुंगेलले भनेका छन्, ‘पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारू गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् झन् अशान्त, असहज परिस्थिति देखा पर्‍यो ।’

उनले यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकोले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नयाँ नेतृत्वका लागि हाल अध्यक्ष रहेका भूमिप्रसाद त्रिपाठी र बागमती प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारी आकांक्षी देखिएका छन् ।

त्रिपाठीको प्यानलबाट उपाध्यक्षमा अर्जुन गोर्खाली र सचिवमा राधिका सापकोटा आकां‌क्षा देखिएका छन् भने अधिकारीको तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य र सचिवमा हरिराम लोहनी सचिवका आकांक्षा रहेका छन् ।

अधिवेशन अध्यक्ष मण्डका अध्यक्ष धर्मदत्त देवकोटाले भने  स्थगित नभएकाे बताएका छन् । केहीबेरमा बन्दसत्र सुरु हुने उनले बताए  ।

आफ्ना गुटका व्यक्तिले चुनाव हार्ने देखेपछि प्रदेश अध्यक्ष ढुंगेलले विज्ञप्ति निकालेर अधिवेशन स्थगित गरेको आरोप अर्को पक्षको  छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: