Loktantra Khabar National Weekly
Ad

बालेनलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- आफ्ना कुरा भन्ने अरूका कुरा नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ

लोकतन्त्र खबर
२ पुष २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा सहभागी रहे।

यो कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसँगै छिमेकी महानगर, काठमाडौंका मेयर बालेन शाह पनि सहभागी थिए।

प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले कुरा राखेका थिए। मेयर शाहले संघीय सरकारबाट कुनै कुनै कुरामा चाहेकोजस्तो सहयोग नमिलेको गुनासो गरेका थिए। प्रधानमन्त्रीले चाहने हो भने खोला अतिक्रमणका विषय पाँच मिनेटमा सल्टिने पनि उनले बताएका थिए।

‘केही कुरामा भने काठमाडौं र ललितपुर फरक दखिन्छ। उदाहरणका लागि काठमाडौंमा खोला अधिक्रमण छ, ललितपुरमा खोला अतिक्रमण छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा छ। एकदिन दुवै अतिक्रमण हट्छ भन्ने आशा गर्छौं,’ मेयर शाहले भने, ‘कुनै-कुनै अतिक्रमण स्थानीय सरकार आफैंले रोक्न सक्छौं तर खोला अतिक्रमण सक्दैनौं। त्यसैले प्रधानमन्त्रीलाई फेरि आग्रह गरेँ, यदि सम्माननीयज्यूले चाहनुभयो भने यहाँबाट अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो। तर उहाँले चाहनुभयो भने मात्र। त्यो पाँच मिनेटदेखि एक घण्टासम्ममा सल्टिने समस्याहरू पनि छन्। जुन मेयरहरूले मात्र र लइन्फोर्समेन्टले मात्र पनि सक्दैन। त्यस्ता कुरामा संघ सरकारले सहयोग गर्न पर्ने हुन्छ।’

उनले ललितपुर र काठमाडौं महानगरपालिका साथसाथै विकास हुनुपर्ने पनि बताए। तर केही कुराहरू उपत्यकाका मेयरहरू बसेर सल्टाउन सक्ने भए पनि कुनै कुरा संघीय कानुन र स्थानीय कानुनमा बाझिँदा समस्या भएको मेयर शाहले बताए।

‘फोहोरमैला व्यवस्थापन जुन बञ्चरेडाँडा सिस्डोलमा गरिँदै आएको छ। त्यसलाई स्थानीय सरकार आफैं‌ले गर्न सक्ने कुरालाई कानुनी बाधा अड्चन परेका छन्। त्यसलाई फुकाइदिन अनुरोध गर्दछु। जसले गर्दा काठमाडौं उपत्यका फोहोरमैला व्यवस्थापन दीर्घकालिन होस् भन्ने चाहना छ,’ मेयर शाहले भने।

आफ्ना कुरा राखेर मेयर शाह कार्यक्रमबाट निस्किए।

मेयर शाहले आफ्ना कुरा राख्ने तर अरूका कुरा नसुन्ने गरेको भन्दै कार्यक्रमकै मञ्चबाट प्रधानमन्त्री दाहालले यसो गर्दा आफूलाई इरिटेसन हुने बताए।

‘अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘आफूले भन्ने कुरा जे-जे भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्नुपर्छ।’

बागमती किनारका सुकुम्बासी बस्ती वा तीनकुने र फोहोरमैला व्यवस्थापनका निम्ति मिलेर काम गर्न आफूले पहल गरेको प्रधानमन्त्री दाहालको भनाइ छ।

‘के अहिलेको प्रधानमन्त्री जत्तिको सकारात्मक र रचनात्मक ढंगले यी समस्या समाधान गर्न समन्वय अर्को कहीँ कसैले देख्नुभएको छ?,’ मेयर बालेनलाई प्रश्न गर्दै प्रधानमन्त्री दाहालले भने, ‘तपाईं त्यसलाई सम्बोधन गर्न किन डराउनुहुन्छ? तपाईं काठमाडौंको मेयर भएकोले ललितपुर र भक्तपुरलाई समन्वय गर्ने बढी जिम्मेवारी तपाईं‌को छ।’

प्रधानमन्त्री दाहालले आफूले मेयर शाहलाई सहयोग गर्ने बताइरहेको पनि बताए। ‘प्रधानमन्त्रीले समस्या समाधान गर्न बल गरिराखेको छ भन्न तपाईंलाई केले रोक्यो?,’ उनले प्रश्न गरे।

मेयर शाह र मन्त्री प्रकाश ज्वाला कार्यक्रमको अन्तिमसम्म नबसेको भन्दै ललितपुरका मेयर चिरीबाबु महर्जन पनि असन्तुष्ट देखिएका थिए। ‘माननीय मन्त्रीज्यू, उहाँ पनि गइसक्नुभयो। अब बालेन जी पनि गइसक्नुभयो, मलाई रिस उठ्यो के गर्ने? ’ उनले भने। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: