बखतियार अलि–
सर्लाही २४ फागुन । सर्लाहीका चारवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल (रास्वपा) को एतिहासिक जित हासिल भएको छ । नेपाल भरिमा सर्वाधिक चर्चामा रहेका सर्लाही क्षेत्र नं. ४ मा रास्वपाका डा.अमरेश कुमार सिंह ३५ हजार ६ सय ८८ मत प्राप्त गरेर सिंह विजयी भएको छ ।
वहाको निकटत्म प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति समेत रहेका गगन कुमार थापाले २२ हजार ८ सय ३१ मत प्राप्त गरेका छन । १२ हजार ८ सय ५७ मतको फराकिलो अन्तरले रास्वपाका सिंह विजयी भएका छन । त्यस्तै नेकपा एमालेका अमनिश कुमार यादव ले ९ हजार ३४३ मत ल्याउँदा जनमत पार्टीका राकेश मिश्र ले १ हजार ५७२ मत प्राप्त गरेका हुन् ।
आईतवार विहान विजयी भएको प्रमाण पत्र बुझदै रास्वपाका नेता सिंहले यो जीत सर्लाही क्षेत्र नं. ४ का जनताको रहेको बताउदै सबै मतदातालाई आभार व्यतm गरेको छ ।
आफु पहिलाको अमरेश सिंह नभएको यो चुनाबमा उमेदवार बनेर आउदा आफु सचिएर, फेरिएर नया भएर आएको डा. सिंहले आज लोकतन्त्र संगको कुराकानीमा बताए । आफु जनताको चाहना बमोजिम काम गरेर देखाउने वहाले प्रतिबद्धता व्यतm गर्नुभयो ।
त्यस्तै सर्लाही क्षेत्र नं. ३ बाट पनि रास्वपाका उमेदवार नरेन्द्र साह कलवारले विजयी हासिल गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवार सानदार मतसहित निर्वाचित भएका छन् ।
साह ४६ हजार ८९० मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । साहले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ३३ हजार ५५२ मतले पराजित गरेका छन् ।
रास्वपाका साह तेस्रो प्रयासमा संसदको यात्रा तय गर्न सफल भएका हुन् । उनी २०७९ को निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उप्रेतीसँग ७७० मतको झिनो अन्तरले पराजित भएका थिए । निवर्तमान प्रतिनिधि सभा सदस्य उप्रेतीले यो पटक चौंथो बन्दै ५ हजार ७७६ मात्र प्राप्त गरेका छन् ।
अहिले प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्वपाका कलवार २०७९ मा भने नेकपा माओवादी केन्द्रबाट प्रतिस्पर्धामा उत्रिएका थिए । उनी यो पटक मनोनयन दर्ताको केही दिनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । साहले २०७४ सालमा पनि सर्लाही ३ मा स्वतन्त्रबाट गुलाब चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रँदा १२ हजार बढी मत प्राप्त गरेका थिए ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार रबिन महतो विजयी भएका छन्। उनले घण्टी चुनाव चिन्हबाट ४२ हजार ५१२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। महतोका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार महिन्द्र राय यादवले ८ हजार ५२३ मत प्राप्त गरेका छन्। त्यस्तै रास्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजेन्द्र महतोले ५ हजार ९९२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डा. सरोज कुमारले ७ हजार ३९ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार नागेश्वर साहले १ हजार ४६३ मत पाएका छन्। अन्तिम मतपरिणाम अनुसार सर्लाही – २ बाट रास्वपाका रबिन महतोले अन्य प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झण्डै ३६ हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेकी हुन् ।
अन्तिम मतपरिणाम अनुसार भण्डारीले ४४ हजार १८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत पाएका छन्। निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ६ हजार १०१ मत प्राप्त गरेका छन् । त्यस्तै, चौथो स्थानमा रहेका नेकपाका उम्मेदवार प्रमोद साहले ५ हजार ४९४ मत पाएका छन्।
अघिल्लो प्रतिनिधि सभा निर्वाचन २०७९ मा सर्लाही–१ बाट लोसपाका रामप्रकाश चौधरी २४ हजार ८३८ मतसहित विजयी भएका थिए। तर यसपटक पुनः उम्मेदवार बनेका चौधरी ३ हजार ९९१ मतमै सीमित भएका छन् ।
सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा विजयी भएका रास्वपाका उमेदवारहरुले १ लाख ६९ हजार २ सय ७१ मत प्राप्त गरेका छन । जम्मा सदर मतको ४० प्रतिशत मत रास्वपाको पक्षमा सर्लाहीका जनताले मतदान गरेको हो । बदर मत बाहेक १८ प्रतिशत मत ५२ हजार ५ सय ५७ मत रास्वपाका निकटत्म प्रतिस्पर्धीहरुले पाएको छ ।
मतगनणा केन्द्रमा खेटेका निर्वाचन अधिकृतहरुको भनाई अनुसार ३ दशकको अन्तरालमा यो परिमाणको मतदान हाल सम्म कुनै पनि पार्टीको हकमा परेको छैन । साथै एकैचोटी सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा कुनै एउटै दलका उमेदवारले चारवटै निर्वाचन क्षेत्रमा विजयी भएको छैन ।
सर्लाही जिल्लाको ३० सालको इतिहासमा यो पहिलो चोटी भएको बताएको छ । त्यसैले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि यो निर्वाचन एतिहासिक निर्वाचन बनेको छ । यस निर्वाचनमा प्रतिपक्ष र प्रतिस्पर्धीहरु अत्यधिक कमजोर देखिएको छ । सर्लाही जिल्लावासीहरु ठुलो माया र मतदान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गरेको छ । सर्लाहीका जनताका ठुलो ऋण अब रास्वपाले कसरी चुकाउने छन । यो कुरा समयले नै बताउने छन ।

