झापा क्षेत्र नम्बर ५ मा गणना गर्न बाँकी मतभन्दा मतान्तर नै धेरै भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह औपचारिक घोषणाअघि नै विजयी भएका छन्। कुल १ लाख ६ हजार ३७२ मत खसेको यस क्षेत्रमा अब गन्न बाँकी मत २४ हजार २५४ मात्रै छ। बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ३८ हजार ६५ मतान्तरले पछाडि पारिसकेका छन्। यसको अर्थ, अब बाकसमा बाँकी रहेका सबै २४ हजार २५४ मत ओलीकै पक्षमा खसे र बालेनले १ मत नपाए पनि बालेनको जितलाई रोक्न गणितीय रूपमा असम्भव छ।
चुनावी अंकगणित अनुसार मतान्तर नै बाँकी मतभन्दा १३ हजार ८११ ले बढी भइसकेकाले औपचारिक नतिजाअघि नै बालेनको ऐतिहासिक विजय सुनिश्चित भएको हो। पछिल्लो चुनावी हिसाब
निर्वाचन अधिकृतको कार्यालयले शनिबार मध्याह्न सार्वजनिक गरेको ८२ हजार ११८ मतको गणनाअनुसार बालेन शाहले ५२ हजार ९६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष ओलीले १४ हजार ३१ मत मात्र पाएका छन्। बालेन र ओलीबीचको यो ३८ हजार ६५ को मतान्तर अब गणना हुन बाँकी रहेको २४ हजार २५४ मतभन्दा निकै धेरै हो। पञ्चायतकालदेखि केपी ओलीको अविजित वर्चस्व रहेको यो क्षेत्रमा रास्वपाको जितले नेपाली राजनीतिमा एउटा शक्तिशाली परम्परागत विरासत ढलेको संकेत गरेको छ। निर्वाचन कार्यालयले बाँकी मत गणना सकेर शनिबार साँझसम्म विजयको औपचारिक घोषणा गर्न सक्छ । सौजन्य नेपालखबर

