वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नागरिक करार’ सार्वजनिक गर्दै पाँच वर्षभित्र १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने तथा प्रतिव्यक्ति वार्षिक आम्दानी करिब ४ लाख रुपैयाँ पुयाउने महत्त्वाकाङ्क्षी लक्ष्य अघि सारेको छ । पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विजयी भए कार्यान्वयन गर्ने प्रतिबद्धतासहित करार सार्वजनिक गरेको हो ।
करार पत्रमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार एक सय अर्ब अमेरिकी डलर नाघ्ने बनाउने लक्ष्य उल्लेख गरिएको छ । मध्यम वर्ग विस्तारलाई दोस्रो प्राथमिकतामा राख्दै औसत वार्षिक प्रतिव्यक्ति आय तिन हजार डलरभन्दा माथि पुयाउने, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने र सार्वजनिक शिक्षामा व्यापक सुधार गर्ने योजना प्रस्तुत गरिएको छ । साथै ‘एकीकृत सामाजिक सुरक्षा’ कार्यक्रम लागू गर्दै आधुनिक वित्तीय सेवामा सर्वसाधारणको पहुँच बढाइने जनाइएको छ । रास्वपाले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ । ‘भ्रष्टाचार विरोधी महाअभियान’ सञ्चालन गर्दै नीतिगत, आचरणगत तथा संस्थागत सुधारमार्फत विश्वासयोग्य राज्य संरचना निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ । सरकारी सेवाको डिजिटल डेलिभरी विस्तार, लाइसेन्सलगायत सेवामा हुने बिचौलिया नियन्त्रण तथा २०८६ सालसम्म भ्रष्टाचार सूचकाङ्कमा उल्लेख्य सुधार गर्ने लक्ष्य करारमा समेटिएको छ ।
रोजगार सिर्जनालाई तेस्रो प्राथमिकतामा राख्दै वैदेशिक पलायन घटाउने, औपचारिक र सुरक्षित रोजगारी विस्तार गर्ने तथा आइटी, निर्माण, पर्यटन, कृषि, उद्योग र सेवा क्षेत्रलाई प्राथमिकता दिइने उल्लेख छ । पूर्वाधार विकासअन्तर्गत पाँच वर्षमा १५ हजार मेगावाट विद्युत् जडान क्षमता विस्तार र ३० हजार किलोमिटर सडक सञ्जाल निर्माण गर्ने लक्ष्य राखिएको छ । साथै रणनीतिक राष्ट्रिय परियोजना सम्पन्न गर्ने र ऊर्जा उत्पादन वृद्धि गर्ने योजना अघि सारिएको छ । प्रवासमा रहेका नेपालीका लागि अनलाइनमार्फत नागरिक सेवा उपलब्ध गराउने, दोहोरो नागरिकतासम्बन्धी विषयमा आवश्यक बहस अगाडि बढाउने तथा सुरक्षित वैदेशिक रोजगारीको वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता पनि करारमा समावेश गरिएको छ ।
करारको अन्त्यमा पार्टीले स्पष्ट बहुमत प्राप्त गरे पनि पाँच वर्षभित्र उल्लिखित लक्ष्य हासिल गर्न नसके मतदातासमक्ष राजनीतिक दायित्व स्वीकार गर्ने उल्लेख गरेको छ । “उल्लेखित कार्यसम्पादन नभए अर्को निर्वाचनमा सजाय दिनुहोस्,” भन्ने सन्देशसहित रास्वपाले मतदातासँग प्रत्यक्ष जिम्मेवारीको प्रतिबद्धता व्यक्त गरेको छ । सौजन्य यात्रा डेली

