Loktantra Khabar National Weekly
Ad

संघले श्रोत साधन प्रयोग गर्न दिदैन : मुख्यमन्त्री यादव

लोकतन्त्र खबर
२९ माघ २०८२

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नै स्रोतसाधन संघीय सरकारले प्रयोग गर्न नदिएको आरोप लगाएका छन् । काठमाण्डूमा मंगलबार आयोजित एक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । मुख्यमन्त्री यादवले सातै प्रदेशमध्ये सबैभन्दा कम बजेट मधेशलाई छुट्याइएको बताए । ‘सातै प्रदेशलाई मिलाएर संघीय सरकारले ६ प्रतिशत बजेट छुट् याउँछ । त्यसमध्ये सबैभन्दा कम १२ अर्ब समानीकरण बजेट मधेशलाई छुट्याइएको छ,’ उनले भने ।

जेन–जी आन्दोलन र सरकारको हेरफेरका कारण यस वर्ष मधेशमा विकास खर्च कम भएको उनले बताए । मधेश प्रदेशमा अदल– बदलको अवस्था कुनै व्यक्ति वा दलको इच्छा मात्र नभई सबै दलको आवश्यकताका आधारमा भएको उनले जानकारी दिए । संघीयता कार्यान्वयन भएपछि मात्रै मधेशका जनताले राज्यको महसुस गर्न पाएको मुख्यमन्त्री यादवले बताए । ‘संघीयता मधेशलाई चाहिन्छ। मधेशका उत्पीडित मधेशी, जनजाति, आदिवासी र दलितले संघीयतापछि हाम्रो पनि सरकार र राज्य छ भनेर महसुस गरेका छन्,’ उनले भने । मुख्यमन्त्री यादवले संघीयता चाहिने वा नचाहिने भन्ने राजनीतिक दलको मागको भूमरिमा थुप्रै ऐनहरु रहेको जानकारी दिए । ‘संघीयतालाई लिएर राजनीतिक दलहरू विभाजित छन् । एकखाले दलले संघीयता अपरिहार्य भन्छन्, अर्को दलहरू संघीयताको विरोधमा बोल्न नसक्ने तर खारेज होस् भन्ने छन्,’ उनले भने । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: