लोकतन्त्र समाचारदाता–
सर्लाही २१ माघ । मलंगवा नगरपालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मलंगवा भरि एचपीभी खोप अभियान सुरु गर्ने भएको छ ।
मलंगवा नगरपालिकाले माघ २५ गते देखि २९ गते सम्म ५ दिन पाठेघरको मुखको क्यान्सर रोकथामका लागि नगर भित्रका २ हजार बढि किशोरीहरुलाई एचपीभी खोप लगाउने कार्यकम रहेको मलंगवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जनाएको छ ।
पालिका स्तरीय खोप समन्वय समितिले बुधवार नगरपालिकाको सभाहलमा अभिमुखिकरण कार्यक्रममा पुर्ण खोप, सुरक्षित भविष्य नारा सहित राष्ट्रिय खोप कार्यक्रम अन्तरगत एचपीभी खोप अभियान नगरपालिका भरि संचालन गर्ने लक्षय रहेको स्वास्थ्य शाखा प्रमुख साहले बताउनु भयो ।
खोप अभियानको क्रममा विद्यालयमा अध्यणरत कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका २ हजार किशोरीलाई खोप दिने लक्ष्य रहेको जनाएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीका फोकल पर्सन शुशिल झाका अनुसार पालिका स्तरमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो ।
अभियान सफल कार्यान्वयनका लागि जिल्लामा विशेष अभियानका रुपमा एचपीभी खोप कार्यक्रमलाई निरन्तरता दिएको झाले बताए ।
झाले थप्दै भने यस वर्षदेखि नै एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ ।
मलंगवा नगरपालिका भित्र रहेका विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राले एचपीभी खोप लगाउन पाउँछन् । अभिमुखि कार्यक्रममा आफनो भनाई राख्दै प्रादेशिक असपताल मलंगवाका प्रमुख (मेसु) डा. रामप्रकाश साहका अनुसार ‘एचभीपी खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गुणस्तरयुक्त खोप हो र संसारका धेरै देशमा प्रयोग हुँदै अएको खोप हो’ ‘नेपालमा प्रयोग गर्नको लागि नेपालको औषधि व्यवस्था विभागबाट अनुमति पाइसकेको छ । त्यसैले खोप निर्धक्क रुपमा लगाउनु लाई डा. साहले अनुरोध गर्नुभयो ।’
एचपीभी खोप ६ देखि १० सम्म अध्ययन–अध्यापन हुने विद्यालयबाट प्रदान गरिंदैछ । त्यसैले अभियान सञ्चालनको समयमा आ–आफ्नो विद्यालयमा गएर कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राले एचपीभी खोप लगाउन पाउने भएकोले पायक पर्ने विधालयमा गएर खोप लगाउन हुन मलंगवा नगरपालिका वार्ड नं. ८ का वडाअध्यक्ष मुकेश जैसवालले सबै नागरिकहरुलाई अनुरोध गरेको छ ।
मलंगवा नगरपालिका वार्ड नं. ३ का वडाअध्यक्ष प्रमोद रायले विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूले पनि यस अभियान सञ्चालनको समयमा नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले मलंगवा नगरपालिका भित्र रहेका नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन सक्छन् । ढुक्क भएर खोप लगाउन वडाअध्यक्ष रायले आग्रह गर्नुभयो ।
पालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष समेत रहेका मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवले एचपीभी खोप लगाएपछि ९० देखि ९५ प्रतिशत सम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई वहाले आग्रह गर्नुभयो । ‘विश्वका १४५ भन्दा बढी देशमा यो खोप प्रयोग भइरहेको छ भने ६१ देशमा प्रयोग भइसकेको छ । यसलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको र औषधि व्यवस्था विभागले पनि स्वीकृति दिएकोले नडराइकन ढुक्क भएर खोप लगाउन नगरप्रमुख यादवले आहवान गर्नुभयो ।
‘एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन ।’ त्यसैले नगरपालिका भित्रका कक्षा ६ देखि १० सम्म अध्ययन र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूले अनिवार्य रुपमा एचपीभी खोप लिनुपर्ने नगरप्रमुख यादवको भनाई छ । एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ ।
भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनु रहेको देखिन्छ ।
एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट पनि बचाउँछ । एचपीभी विरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्ने भएकोले यो खोप लगाउन जरुरी रहेको मलंगवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले अभिमुखिकरण कार्यक्रममा बताउनु भयो ।
मलंगवा नगरपालिकाका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रममा मलंगवा नगरपालिकाका नगर उपप्रमुख सकुन्तला देवी साह, शिक्षा शाखा प्रमुख प्रमोद मण्डल लगायत सरोकारवाला तथा नगरभित्र रहेका विधालयका शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

