Loktantra Khabar National Weekly
Ad

दुई मिनेटमै निदाउने ‘मिलिट्री स्लीप मेथड’ : कति उपयोगी, कति भ्रम ?

लोकतन्त्र खबर
१६ माघ २०८२

विश्वका करिब ५ देखि ५० प्रतिशत मानिस अनिद्राबाट पीडित छन् र ्’मिलिट्री स्लीप मेथड्’ले दुई मिनेटमै निदाउन सकिने दाबी सामाजिक सञ्जालमा छ । राति ओछ्यानमा पल्टिएपछि घण्टौँसम्म निद्रा नलागेर छटपटी हुनु आजको भागदौडपूर्ण जीवनको साझा समस्या बनेको छ । अध्ययनहरूका अनुसार विश्वका करिब ५ देखि ५० प्रतिशत मानिस कुनै न कुनै रूपमा अनिद्राबाट पीडित छन् । यस्तो समस्या ‘मिलिट्री स्लीप मेथड’बाट समाधान गर्न सकिने दाबीहरू सामाजिक सञ्जालमा भेटिन्छ । उक्त दाबी अनुसार त्यस्तो विधि अपनाएमा जो कोही पनि मात्र दुई मिनेटभित्र गहिरो निद्रामा पर्न सक्छन् । तर, विज्ञहरू भने यो दाबीलाई खतरनाक मान्छन् ।
के हो त ‘मिलिट्री स्लीप मेथड’ ?

यो विधिको चर्चा सन् १९८१ मा अमेरिकी ट्र्याक एन्ड फिल्ड प्रशिक्षक लोयड ‘बड’ विन्टरले आफ्नो पुस्तक रिल्याक्स एन्ड विनमा गरेका थिए । दोस्रो विश्वयुद्धका क्रममा अमेरिकी नौसेनाका पाइलटहरूलाई तनावपूर्ण परिस्थितिमा पनि तुरुन्तै निदाउन र पुनः स्फूर्त भएर काममा फर्कन सिकाउन यो प्रविधि विकसित गरिएको थियो । विन्टरका अनुसार ६ हप्तासम्म लगातार अभ्यास गरेपछि पाइलटहरू जस्तोसुकै कोलाहल वा तनावमा पनि दुई मिनेटमै निदाउन सक्षम भएका थिए ।

त्यसका लागि यस्ता सुझावहरू दिइएका थिए

१. पालैपालो टाउको, अनुहारका मांसपेशीहरूलाई खुकुलो बनाउँदै जाने । सँगसँगै बिस्तारै र गहिरो सास फेर्ने । २. दुवै हातलाई ओछ्यानमा छाड्ने । ३. खुट्टालाई आराम गर्न दिने । त्यहाँको तनाव घटाउने । ४. दिमागमा १० सेकेन्डसम्म कुनै पनि विचार आउन नदिने । ५. मनमा कुनै पनि कुरा नलेखाउने ।
विज्ञको चेतावनी ः दुई मिनेटमा निदाउनु असम्भव र जोखिमपूर्ण

सामाजिक सञ्जालमा लाखौं भ्यूज पाउने यो विधिप्रति निद्रा विशेषज्ञहरू भने सन्तुष्ट छैनन् । मिलिट्री न्यूरोबायोलोजिस्ट डा. एलिसन ब्रेगरले दुई मिनेटमै निदाउने अपेक्षा राख्नु खतरनाक हुने बताउँछन् । उनका अनुसार एक सामान्य स्वस्थ मानिसलाई निदाउन औसत ५ देखि २० मिनेटसम्म लाग्छ । यदि कोही दुई मिनेटमै निदाउँछ भने ऊ चरम थकानमा भएको वा उसलाई कुनै गम्भीर स्वास्थ्य समस्या हुने उनको भनाइ छ । उनी छिटो निदाउने दबाबले उल्टै तनाव बढ्ने र यसले निद्रालाई झन् टाढा भगाउने बताउँछन् । युनिभर्सिटी कलेज लन्डनका डा. ह्युग सेल्सिकका अनुसार ८ घण्टा सुत्नैपर्छ भन्ने धारणा पनि एक भ्रम हो । जसरी सबैलाई एउटै साइजको जुत्ता हुँदैन, त्यसै गरी सबैलाई ८ घण्टाको निद्रा पनि आवश्यक नहुने उनको भनाइ छ ।
छिटो निदाउन विज्ञ के भन्छन् ?
यदि अनिद्राको समस्याबाट मुक्त हुन चाहने हो भने सैनिकहरूको कडा विधिभन्दा अन्य धेरै व्यावहारिक सुझावहरू पनि छन् । जुन स्वास्थ्य विज्ञानमा आधारित हुन्छन् । १. राति जति बजे सुते पनि बिहान उठ्ने समय एउटै बनाउने । यसले शरीरको जैविक घडी सेट गर्छ । २. दिउँसोको छोटो निद्राले रातिको गहिरो निद्रालाई असर गर्छ । दिउँसो सकेसम्म नसुत्ने । ३. जबसम्म निद्राले आँखा लाग्दैन, तबसम्म ओछ्यानमा नजाने । ओछ्यानमा पल्टिएर फोन चलाउनुको सट्टा किताब पढ्नु वा शान्त संगीत सुन्ने । अतः ‘मिलिट्री स्लीप मेथड’मा प्रयोग गरिने मांसपेशीलाई खुकुलो बनाउने र सास फेर्ने तरिका लाभदायक त छन्, तर यसले दुई मिनेटमै निद्रा लाग्छ भन्ने कुरामा विश्वास गर्नु गलत हुन सक्छ । सैनिकहरूले अनुशासन र एउटा निश्चित ‘स्लीप रुटिन’ पछ्याउनु नै राम्रो निद्राको रहस्य हो । सौजन्य अनलाइनखबर

 

प्रतिक्रिया दिनुहोस्: