मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कमिशन दिन नमानेपछी ९ महिनादेखि दिवा खाजा बन्द भएको आरोप लागेको छ। चन्द्रनगरका सबै ( प्राय ) जसो सामुदायिक विद्यालयमा दिवा खाजा अहिले बन्द छ।
चन्द्रनगर गाउँपालिका वडा नं. ६, २ र १ मा जिरो दरबन्दीको विद्यालय लगायत अन्य विद्यालयमा पनि दिवा खाजा बन्द भएको शिक्षकहरुले जानकारी दिएका छन्। चित्रगुप्त विद्यालयका शिक्षकका अनुसार पहिला दिवा खाजा चल्दा गाउँपालिका अध्यक्ष राजकुमार महतोको फुफुको छोरा देनकुमार महतोले दिवा खाजामा २० हजार लिने गरेका थिए ।
पछि रकम दिन अस्विकार गरेपछी विद्यालयमा विगत ९ महिना देखि दिवा खाजा बन्द भएको वडा नं. ६ का स्थानिय सुवोध कर्णले बताए । यस्तै, अरु विद्यालयका शिक्षकरुले पनि देनकुमार महतोलाई दिवा खाजामा रकम दिने गरेको बताएका छन् । पछि नगद रकम दिन नमानेपछी सबै विद्यालयमा दिवा खाजा बन्द भएको एक शिक्षकले बताए ।
देनकुमार महतो गाउँपालिका अध्यक्षकै फुफुको छोरा भएकोले शिक्षा शाखामा करार सेवामा प्रा.स. पदमा नियुक्त भएका थिए । स्रोतको अनुसार अध्यक्ष महतोको कमिशन उठाउनलाई नै देनकुमार महतोलाई नियुक्त गरी राखिएको छ। उनि हरेक योजना बाट कमिशन उठाउने गरेको स्रोतको दावी छ । त्यस्तै देनकुमार महतोले नै स्वयमसेवक शिक्षक भर्नामा करिब ६५ लाख रुपैया कमिशन उठाएको स्रोतको दावी छ ।
स्थानियका अनुसार अध्यक्ष राजकुमार महतोले चन्द्रनगर गाउँपालिकाको शिक्षा क्षेत्रलाई पंगु बनाएको बताए । अध्यक्ष महतोको कार्यकालमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खसकेको वडा नं. ३ का स्थानिय युवा धर्मेन्द्र यादवले आरोप लगाए ।
यादवका अनुसार अध्यक्ष महतोले कमिशन बाहेक चन्द्रनगरमा अरु केही नगरेको बताए । अध्यक्ष महतोले आफनो भागमा ३ करोड, वडा अध्यक्षहरुको भागमा १ करोड २५ लाखको दरले कमिशन उठाउने उद्देश्यले भागबण्डा गरेको हुदाँ चन्द्रनगरको समग्र विकास प्रभावित भएको आरोप लगाउनु भयो । सौजन्य धड्कन एफ.एम.

