Loktantra Khabar National Weekly
Ad

कति छ गृहमन्त्री रवि लामिछानेको सम्पत्ति?

लोकतन्त्र खबर
८ जेष्ठ २०८१

सुन करिब ८० तोला

सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार जना मन्त्रीहरूले आफूहरूको सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाएका थिए।

रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ।

गृहमन्त्रीले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ। उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ। पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख छ।

रवि लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ। यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ। काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा १० रोपनी (संगोलमा) जग्गा पनि छ।

सम्पत्ति विवरणमा गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको उल्लेख गरेका छन्। यो अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन्। चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ।

गृहमन्त्री रविका नाममा दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ छ। निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम छ।

निकिताको नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको छ। चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको पनि उल्लेख छ।

निकिताको नाममा ४२ लाख रुपैयाँमा कार २०७९ सालमा किनेको उल्लेख छ। निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको उल्लेख छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: