Loktantra Khabar National Weekly
Ad

ईश्वरपुर आँखा उपचार केन्द्रलाई “वर्ष उत्कृष्ट शाखा” को सम्मान

लोकतन्त्र खबर
४ श्रावण २०८२

लोकतन्त्र समाचारदाता—
सर्लाही,साउन ३ गते।  सर्लाहीको  ईश्वरपुर नगरपालिका वडा न-९ मा रहेको ईश्वरपुर आँखा उपचार केन्द्रले आर्थिक वर्ष २०८१/८२ को “वर्ष उत्कृष्ट शाखा” को रूपमा सम्मान प्राप्त गरेको छ। भरतपुर आँखा अस्पतालले सञ्चालन गरिरहेका २५ वटा शाखाहरूमध्ये ईश्वरपुर केन्द्र उत्कृष्ट ठहरिएको हो।

 

नेपाल नेत्रज्योति संघ र भरतपुर आँखा अस्पतालको सहकार्यमा सञ्चालित यस केन्द्रले “उत्कृष्ट संयोजक” र “उत्कृष्ट व्यवस्थापन” गरी दुई विधामा सम्मान जितेको छ। उक्त सम्मान केन्द्र संयोजक तथा ईश्वरपुर नगरप्रमुख मनोज आचार्य र प्रमुख चन्दन मणि रामले ग्रहण गरेका हुन्।

 

सम्मान समारोहमा उपसंयोजक प्रकाश मैनाली, नगर अस्पताल सञ्चालक समिति सदस्य दिपेन्द्र साह, र कार्यपालिका सदस्य गणेश ठाकुर चितवन पुगेका थिए।

 

एउटा सानो प्रयासबाट ठूलो प्रभाव परेको बताउँदै सम्मानले थप प्रेरणा दिएको नगरप्रमुख आचार्यले बताए। उपसंयोजक मैनालीले अब केन्द्रमा विशेषज्ञ डाक्टरद्वारा सेवा सुरु गर्ने योजना रहेको जानकारी दिए। हाल नेत्र सहायकबाट सेवा दिइँदै आएको भए पनि अब गुणस्तरीय र प्रभावकारी सेवा विस्तार गरिने उनको भनाइ छ।

 

हाल महिनामा एकपटक मात्र हुने विशेषज्ञ सेवा अब हरेक १५ दिनमा र क्रमशः साप्ताहिक हुँदै दीर्घकालीन रूपमा दैनिक सेवा सञ्चालन गर्ने योजना रहेको भरतपुर आँखा अस्पतालका संयोजक रमेश कुमार धिमिरेका बताए।

 

त्यस्तै कार्यपालिका सदस्य ठाकुरले केन्द्रमा थप सेवा विस्तार भएपछि नागरिकलाई बाहिर जानु नपर्ने बताए भने सञ्चालक समिति सदस्य साहले नगर तथा छिमेकी पालिकाका बासिन्दाले स्थानीयमै उपचार सेवा पाउने बताए।

 

यसैबीच, पर्साको ठोरी गाउँपालिकास्थित ठोरी आँखा उपचार केन्द्रले पनि “उत्कृष्ट केन्द्र प्रमुख” र “उत्कृष्ट अप्टिकल डिस्पेन्सर” विधामा सम्मान पाएका छन्।

 

भरतपुर आँखा अस्पतालको आयोजनामा र नेपाल नेत्रज्योति संघको संयोजनमा सम्पन्न भएको  कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेल, कोषाध्यक्ष चिज कुमार मास्के लगायत विभिन्न पालिकाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: