
मनोज यादव-
सर्लाही, जेठ २० सर्लाही हरिपुर्वा नगरपालिका–५ की २५ वर्षीया पविता यादवको काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको छ। माघ ३ गते जनकपुरको पिडारी चोकस्थित बिना दर्ता सञ्चालन हुँदै आएको मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बेहोस भएकी पविता साढे चार महिनादेखि अचेत अवस्थामा थिइन् ।
पविताको शल्यक्रिया डा. ज्ञानकुमार साहले गरेका थिए। त्यसपछि उनको अवस्था जटिल बन्दै गएपछि उनलाई जनकपुरको जानकी हेल्थकेयर हुँदै काठमाडौंको केएमसी अस्पताल लगिएको थियो। त्यहाँ उनलाई तीन महिनाभन्दा बढी समय भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तर उनको अवस्था सुधार भएन। शुक्रबार बिहान ७ बजे उनको निधन भयो।
पविता यादवको परिवार आर्थिक अभावमा थियो। उपचार खर्च तिर्न सक्ने हैसियत नभएपछि उनका पति अंगेश यादव अस्पतालमै श्रीमतीलाई छोडेर गाउँ फर्किन बाध्य भएका थिए। महिनौंसम्म अस्पतालमा उपचार गरेपछि करिब १० लाख रुपैयाँको बिल बाँकी थियो। शव व्यवस्थापनसमेत गर्न नसक्ने अवस्थामा पुगेको परिवारलाई केएमसी अस्पतालले पटक–पटक सम्पर्क गर्यो। अन्ततः जेठ १४ गते अस्पतालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पत्राचार गरी पविताका पति अंगेशलाई उपस्थित गराउन अनुरोध गर्यो।
यही क्रममा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले पविता यादवको परिवारको अवस्था बारे जानकारी पाए। मन्त्री रायले आफ्नै पहलमा केएमसी अस्पतालका सञ्चालक एवं कांग्रेस नेता डा. सुनिल शर्मासँग समन्वय गर्दै सम्पूर्ण उपचार खर्च मिनाहा गराए। अस्पताल प्रशासनले शव समेत परिवारलाई निःशुल्क रुपमा जिम्मा लगायो।
सोमबार पविताको शव हरिपुर्वास्थित घर ल्याइएको थियो। मंगलबार हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।
पविताको मृत्युको मूल कारण जनकपुरस्थित मुस्कान अस्पतालमा भएको लापरवाही मानिएको छ। बिना दर्ता सञ्चालन हुँदै आएको सो अस्पतालमा सल्लाह दिएर पवितालाई भर्ना गराउने सुशील यादव, शल्यक्रिया गर्ने डा. साह, एनेसथेसिया दिने स्वास्थ्यकर्मी र अस्पताल सञ्चालक हेल्थ असिस्टेन्ट कमल राइनविरुद्ध पविताका बुबा ब्रह्मदेव यादवले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन्। प्रदेश सरकारका मुख्यमन्त्री शतिश कुमार सिंहको निर्देशनमा मुस्कान अस्पताल बन्द गरिएको छ भने दोषीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
चार महिनासम्म अचेत अवस्थामा जीवनसँग लडिरहेकी पविता अन्ततः चिरनिद्रामा गइन्। तर उनको मृत्युले नेपालको स्वास्थ्य प्रणाली र गैरकानुनी रूपमा सञ्चालन भइरहेका निजी अस्पतालहरूको नियमनको गम्भीर प्रश्न खडा गरिदिएको छ।
पविताको परिवारले उपचार खर्च मिनाहा र शव व्यवस्थापनका लागि मानवीय हस्तक्षेप गरेको भन्दै मन्त्री रायप्रति कृतज्ञता प्रकट गरेका छन्। स्थानियवासीहरुले भने — “चुनावमा मात्र देखिने नेताहरुभन्दा मन्त्री राय हजारौं गुणा असल छन्। उहाँले पीडामा परेका जनताको वास्तविक पीडा सुनेर सहानुभूति मात्र हैन, समाधान पनि गर्नुभयो।”
पविता गइन्, तर ‘मुस्कान’ नामका अस्पतालहरूले दिन सक्ने पीडाले अझ कति पविता गुम्न बाँकी छन् भन्ने चिन्ता भने यथावत् छ।