
मनोज यादव—
सर्लाही, जेठ ८ गते। सर्लाहीको कौडेना गाउँपालिकामा एकदिने एकीकृत महिला स्वास्थ्य शिविर तथा स्वास्थ्य मेला सम्पन्न भएको छ। ओरेक नेपाल सर्लाहीको आयोजना र कौडेना गाउँपालिकाको सहकार्यमा फुलपरासी सामुदायिक अस्पतालमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
ओरेक मधेस प्रदेश संयोजक वीणा सिंहका अनुसार, महिला स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने, परामर्श र उपचार सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको हो। “महिलालाई शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ राख्न यस्ता कार्यक्रम आवश्यक छन्,” उनले भनिन्।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भएको शिविरको उद्घाटन गाउँपालिका उपाध्यक्ष नगिना देवी यादवले गरेकी थिइन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डा. सोनेलाल साह, मलंगवाका मेडिकल अधिकृत डा. सचिन यादव, जनकपुर प्रादेशिक अस्पतालकी ओसिएमसी प्रमुख डा. रुबी सिंह, फुलपरासी अस्पतालका डा. रणधित यादव, ओरेकका मेडिकल अधिकृत डा. राम प्रवेश यादवलगायतको उपस्थिति थियो।
शिविरमा डा. सिंह र डा. यादवले ६१ जना महिलाको स्वास्थ्य परीक्षण गरेका थिए। जसमध्ये ५ जनामा पाठेघर झर्ने समस्या देखिएको थियो भने ३ जनाको पाठेघरमा रिंग राखिएको थियो। २ जनालाई अपरेसनका लागि रेफर गरिएको र ४० जनाभन्दा बढीलाई VIA र OPD सेवासहित निशुल्क औषधि वितरण गरिएको थियो।
स्वास्थ्य सेवा बाहेक मेलामा महिलासँग सम्बद्ध विभिन्न विषयमा जानकारीमूलक स्टल राखिएको थियो। सयपत्री कुराकानी, घरेलु जडीबुटी उपचार, महिला हिंसा तथा किशोरी स्वास्थ्यका सवालमा परामर्श पनि दिइएको थियो।
सर्लाहीमा यस्ता खालको स्वास्थ्य मेला पहिलोपटक आयोजना गरिएको हो। सहभागीहरूले यसलाई सफल र उपलब्धिमूलक कार्यक्रमका रूपमा मूल्यांकन गरेका छन्।