मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले बालिका संरक्षण तथा सशक्तिकरण ऐन कार्यान्वयनका लागि प्रदेश सरकारले बेटी जिन्दाबाद महाअभियान सञ्चालन गर्ने योजनामा रहेको बताएका छन् ।
जनकपुरधाममा आइतबार गरेको बाल विवाह न्यूनीकरण सम्बन्धी संवाद र छलफल कार्यक्रममा बोल्दै उनले बेटी जिन्दाबाद महाअभियान सञ्चालन गर्ने तयारी थालेको बताए । सो अभियानले समाजमा विकृतिको रूपमा देखिएको बालविवाह न्यूनीकरणका साथसाथै दहेज प्रथाको उन्मुलन र बालिकाहरूलाई सशक्त बनाउनमा सहयोग पुग्ने बताए ।
सन् २०३० सम्ममा बालविवाह मुक्त प्रदेश घोषणा गर्ने सरकारको लक्ष्य अनुसार प्रदेश सरकारले सबैभन्दा पहिले मधेश प्रदेशमा बालिका संरक्षण तथा सशक्तिकरण ऐन ल्याएको बताए । उनले भूगोल र बाटोघाटोको मामिलामा अन्य प्रदेश भन्दा सुगम मानिएको मधेश प्रदेश मानवीय र सामाजिक विकासको क्रममा अन्य प्रदेश भन्दा पछाडि रहेको भन्दै वर्तमान अवस्थालाई हामी सबैले फेरिनु पर्नेमा जोड दिए ।
उनले मधेश प्रदेशमा बालविवाह न्यूनीकरणका लागि कार्यविधि तयार भइरहेको र त्यसलाई चाँडै पारित गरी कार्यान्वयनका लागि अगाडि बढ्ने बताए । उनले मधेश प्रदेशका दुई पालिका बालविवाह मुक्त घोषणा भइसकेको र केही घोषणा हुने क्रममा रहेको जानकारी दिँदै पालिकालाई बालविवाह मुक्त घोषणा गरेर मात्र जिम्मेवारी पुरा नहुने बताए । उनले घोषणा भएका पालिकाहरूमा निगरानी अझै बढाउनुपर्नेमा जोड दिए ।
उनले बालविवाह रोक्नमा मात्रै केन्द्रित भयौँ भने चुनौती अझै थपिन सक्ने भन्दै बालविवाह किन हुन्छ भन्ने विषयमा पनि छलफल हुनु आवश्यक रहेको बताए । मधेश प्रदेशमा १८ वर्ष मुनिका २२.७ प्रतिशतले बालविवाह गर्ने गरेको तथ्यांक छ ।