Loktantra Khabar National Weekly
Ad

बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

तुलसीपुर। दाङमा बहु विवाह गरेका एक जना आरोपीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ जिल्ला अदालतले घोराही १५ तुलसीपुर चोक निवासी सरोज पौडेललाई बहु विवाहको आरोपमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।

पौडेल मुद्दा दर्ता भएपछि भागेका थिए । जिल्ला प्रहरी कार्यालय दाङले पौडेललाई फरार सुचीमा राखेर घटनाबारे अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय घोराहीलाई फाइल बुझाएको थियो । आफै फरार रहेका पौडेल गएको वैशाख २५ गते अदालतमा हाजिर भएका थिए ।

जिल्ला न्यायधीश तारा शर्माको एकल इजलासले थुनछेकका क्रममा मुद्दाको अन्तिम टुङ्गो नलाग्दा सम्म पौडेललाई तत्कालको प्रमाणको आधारमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो । पौडेल अदालतको आदेश अनुसार कारागार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए ।

अदालतले आफ्नो जेठी पत्नी हुँदाहुँदै सम्बन्ध विच्छेद नगरेर विदेश जाने लोभमा कान्छी श्रीमतीसँग विवाह गरेर सम्बन्ध विच्छेद गरेको कागजलाई प्रमाणकोरुपमा लिएको छ । अदालतमा पीडित महीलालले आफूलाई कुटपिट गरेर खानलाउन नदिई घरबाट निकाला गरेको बयान  दिएकी छिन् ।

यसअघि प्रहरी र सरकारी वकिललाई दबाब दिएर पौडेललाई बहु विवाहको आरोपबाट उन्मुक्ति दिने प्रयास गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय दाङले पनि बहुविवाह गरेको आरोपी विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । यस बारेमा रातोपाटीमा समाचार प्रकाशित भएपछि उच्च सरकार वकिल कार्यालयले जिल्ला सरकारीको निर्णय उल्ट्याउँदै घटना अनुसन्धान गरेर मुद्दा दर्ता गर्न निर्देशन दिएको थियो ।

प्रहरीले बहु विवाहको आरोपी छोरालाई उपस्थित नगराएपछि पौडेलका बाबु केशव पौडेललाई मुद्दा चलाउन खोजेको थियो ।  बाबुलाई मुद्दा चलाउन इन्कार गरेपछि सरकारी वकिल कार्यालयका घोराहीका प्रमुखले छोरालाई फरार सुचीमा राखेर कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: