Loktantra Khabar National Weekly
Ad

दुई मन्त्रालय नपाएपछि जसपाले फिर्ता बोलायो मन्त्री, अहिरले दिए राजीनामा

लोकतन्त्र खबर
९ बैशाख २०८१

काठमाडौं  वैशाख ९, पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ ।

जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा राजीनामा बुझाएका हुन् ।

माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए ।

तर जसपाले पदभार ग्रहण नगर्न निर्देशन दियो । दलकै निर्देशनमा उनले राजीनामा दिएका छन् । ‘पार्टीले सरकारमा जान भनेपछि गएँ’, अहिरले अनलाइनखबरसँग भने, ‘अस्ति पदभार ग्रहण नगर्न भन्यो, अहिले राजीनामा दिन भनेपछि दिएँ ।’

सरकार गठनका क्रममा मुख्यमन्त्री महराले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने लिखित सहमति नै गरेका थिए ।

अहिले एउटामात्र दिएपछि सरकारबाट मन्त्री फिर्ता बोलाइएको प्रवक्ता मनिष सुमनले जानकारी दिए । ‘मुख्यमन्त्रीजीले बेइमानी गर्नुभयो । त्यसैले मन्त्रीलाई फिर्ता बोलाइएको हो’, उनले भने ।

३ सांसद भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । ८३ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा मुख्यमन्त्री महरासँग टुप्लुक्क बहुमत (४४) मत मात्र छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: