Loktantra Khabar National Weekly
Ad

निजी विद्यालयमा कमिसनको खेल/आधुनिक शिक्षा प्रदान गर्ने नाममा अभिभावक माथि आर्थिक र बालबालिका माथि किताबको बोझ

लोकतन्त्र खबर
६ बैशाख २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख ६

निजी तथा संस्थागत विद्यालयहरुले बालबालिकाहरु लाई आधुनिक शिक्षा प्रदान गर्ने नाममा किताबको भारी बोकाउने काम गरिरहेका छन् ।

स्तरीय तथा गुणस्तरीय शिक्षा प्रदान गरेर असल र सक्षम नागरिक बनाउने सपना देखाएर अभिभावकसँग कामै नलाग्ने पुस्तकहरु समेत खरिद गर्न लगाई उनीहरूको बालबालिकासँग किताबको भारी बोक्न लगाएर कलिलो उमेरदेखिनै भरिया बनाउने काम गरिरहेका छन् ।

यस्ता विद्यालयहरु पुस्तक बिक्रेतासँग कमिसन पाउने लोभमा पाठ्यक्रम विकास केन्द्रले अनुमतीनै नदिएका विभिन्न पब्लिकेसन्सका पुस्तकहरु समेत किन्न लगाएर अभिभावक माथि आर्थिक भार र बालबालिका माथि किताबको भार दिने काम मात्र गरिरहेका छन् ।

नर्सरी देखिनै कक्षामा आवश्यक्तानै नपर्ने किताबहरु समेत जबर्जस्ती किन्न लगाएको भन्दै अभिभावकहरुले चिन्ता ब्यक्त गरेका छन् ।

कक्षा १ को किताब जुन पब्लिकेसन्सको हुन्छ त्यही किताब कक्षा २ मा अर्कै पब्लिकेसन्सको हुन्छ।

विद्यालय अनुसार पनि पब्लिकेसन्सहरु फरक फरक हुने गरेको मलंगवाकै एक निजी विद्यालयका एक शिक्षकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा लोकतन्त्रलाई जानकारी गराएका छन् ।

निजी विद्यालयहरुले एउटै कक्षाको किताब फरक फरक पब्लिकेसन्सको चलाउने गरेकाले किताबको सेट पूरा गर्न बजार भरीका पुस्तक पसलहरुमा धाउनु परेको मलंगवाकै एक अभिभावकले गुनासो गरेका छन् ।

पसलमा पुस्तक खरीद गर्न जाँदा कुनै पसलमा एउटा पब्लिकेसन्सकोन पुस्तक पाइन्छ भने सोही कक्षाको पुस्तक अर्को पसलमा पाइन्छ,उनले थपे।

जुन पब्लिकेसन्सको किताब शिक्षकहरुलाई पढाउन सजिलो लाग्छ र कमिसन बढी दिन्छ त्यही पब्लिकेसन्सको किताब विधालयहरुले चलाउने गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सर्लाहीका अध्यक्ष रामनरेश साहले दावी गर्नुभयो।

तर कुन पब्लिकेसन्सले कति कमिशन विधालयलाई दिन्छ त्यो आफुहरुलाई थाहा नहुने साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: