Loktantra Khabar National Weekly
Ad

प्रधानमन्त्रीलाई भेटेपछि ओलीले भने- कांग्रेसले चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ

लोकतन्त्र खबर
३० चैत्र २०८०

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्रीले भेटे अध्यक्ष ओलीलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सिंहदरबारमा शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र सत्तारूढ एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै संसदको अधिवेशन अन्त्य हुने र पछि फेरि आह्वान हुने बताए।

‘अधिवेशन अन्त्य हुन्छ, फेरि अर्को सुरू हुन्छ यस्तै हो,’ ओलीले भने।

अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएको आरोप लगाए। बिजनेस नपाएर अधिवेशन अन्त्य गर्न लागिएको हो भन्ने प्रश्नमा जबाफ दिएका ओलीले भने, ‘हैन, कांग्रेसले चल्न नदिएर हो।’

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित छ।

सरकारले अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने चर्चासमेत भइरहेका छन्। प्रधानमन्त्री दाहालले लगानी वातावरण बनाउन अध्यादेश ल्याउन सकिने पनि अभिव्यक्ति दिएका थिए।

साथै सिंहदरबारमा शुक्रबार दिउँसो मन्त्रिपरिषद बैठक बसेको छ। मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग भेटेका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: