Loktantra Khabar National Weekly
Ad

गण्डकीमा राप्रपाको साथ माग्दै ओलीले भने- म पनि बाहुनको छोरो, दुइटा कुरा गर्न आउँदैन

लोकतन्त्र खबर
२३ चैत्र २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशको सरकार बनाउन राप्रपाको साथ खोजेका छन्।

पार्टी कामको सिलसिलामा पोखरा आएको बेला शुक्रबार राप्रपाका नेताहरूसँग भेटेर उनले प्रदेश सरकार बनाउन सहयोगको आग्रह गरेका हुन्।

एमाले माओवादी सत्ता गठबन्धनमा गण्डकी प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति छ। एमाले नेतृत्वमा गण्डकी सरकार बनाउन वर्तमान सत्ता गठबन्धनबाट बहुमत पुग्दैन, राप्रपाका २ सांसद निर्णायक छन्।

एमाले कास्कीको नवनिर्वाचित कमिटीलाई शपथ गराउन शुक्रबार पोखरा आएका अध्यक्ष ओलीले लेकसाइडमा राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङसँग भेटेका थिए। खासमा अध्यक्ष ओलीले गण्डकीमा एमाले नेतृत्वको सरकार बनाउन निर्णायक रहेको राप्रपाको समर्थन माग्न भेटघाट गरेका थिए।

राप्रपा गण्डकीका अध्यक्ष एवं सांसद गुरुङले सुरूआतमै भने, ‘म त गुरुङको छोरा हजुर, दुइटा कुरा गर्न आउँदैन। केन्द्रबाट जे निर्णय आउँछ त्यही अनुसार चल्छु।’

उनले जवाफमा भने, ‘म पनि बाहुनको छोरो हुँ, दुइटा कुरा गर्न आउँदैन।’

राप्रपालाई फकाउन ओलीले राष्ट्रवादका कुरा पनि निकाले।

‘राष्ट्रवादी शक्तिहरू एकजुट भएर जानुपर्छ,’ उनले गुरुङलाई भने, ‘यहाँ तपाईंहरू मिलेर सरकार बनाउनुपर्‍यो।’

राप्रपा सांसद गुरूङले चैत २७ गते काठमाडौंमा राप्रपाले आयोजना गरेको प्रदर्शन अघि कुनै पनि गठबन्धनमा नजाने निर्णय भएको सुनाए। गण्डकीको वस्तुस्थिति केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनलाई ब्रिफिङ गराइसकेको भन्दै उनले केन्द्रबाट निर्णय नहुँदासम्म कसैलाई सघाउन नसक्ने दोहोर्‍याए।

‘हाम्रो त अनुशासित पार्टी हो, केन्द्रको निर्णय अनुसार चल्छ,’ गुरुङले ओलीलाई भने, ‘आन्दोलनको कार्यक्रम अघि कुनै पनि गठबन्धनमा जाँदैनौं।’

ओलीले राप्रपा अध्यक्ष लिङ्देनसँग पनि कुरा भएको बताए। पञ्चरामसँग उनले भने, ‘मैले राजेन्द्र जीसँग पनि कुराकानी गरेको छु, ठिक छ फेरी भेटेर कुरा गरौंला।’

ओलीसँग भेटघाट गर्न ओलीकै सचिवालयबाट फोन आएको गुरूङले बताए। भेटघाटमा राप्रपाबाट गुरुङ मात्रै थिए भने एमाले नेताहरु किरण गुरुङ र खगराज अधिकारी पनि साथमा थिए।

गण्डकीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेको सरकार जोगाउन होस् वा एमाले मओवादी गठबन्धनको सरकार बनाउन राप्रपा निर्णायक छ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभाा सरकार बनाउन ३१ मत चाहिन्छ। गण्डकीमा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८ राप्रपाको २ र स्वतन्त्र चुनाव जितेर नेकपा एकिकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे सांसद छन्।

माओवादीबाट सभामुख बनेका कृष्ण धितालले सरकार बनाउन मत दिन पाउँदैनन्। यसले गर्दा एमाले र माओवादीको मात्र २९ मत पुग्छ। राप्रपाले साथ दिएको खण्डमा ३१ मत पुग्छ।

यता, कांग्रेस सरकार टिकाउन पनि कांग्रेसको २७, दिपक मनाङे र माओवादीको चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको २ सांसदको साथ चाहिन्छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: