Loktantra Khabar National Weekly
Ad

४४ जना सांसदहरूको हस्ताक्षरसहित लुम्बिनी सरकार गठनका लागि महराको दाबी पेश

लोकतन्त्र खबर
२३ चैत्र २०८०

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धन दलहरूबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेताका जोखबहादुर महराले दाबी पेश गरेका छन्।

नेकपा एमालेका संसदीय दलका नेता लीला गिरी, प्रमुख सचेतक तुल्सी चौधरी, एकीकृत समाजवादीकी भगवती घिमिरेसहित पुगेका महराले प्रदेश प्रमुख शेरचन समक्ष दाबी पेश गरेका हुन्।

महरा रोल्पाबाट निर्वाचित सांसद हुन्। यसअघि लिला गिरी मुख्यमन्त्री रहेको बखत महरा तीन महिना अर्थमन्त्री भएर जिम्मेवारी निर्वाह गरेका थिए।

महराले आफ्नो पक्षमा गठबन्धन दलका ४४ जना सांसदहरूको हस्ताक्षर बुझाएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए।

नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यले महराको पक्षमा हस्ताक्षर गरेका छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको हो।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ।

बिहीबार डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: