Loktantra Khabar National Weekly
Ad

टसमस भएनन् देउवा, इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने

लोकतन्त्र खबर
२२ चैत्र २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अडान नछाडेपछि इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्का र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ।

चार दिनसम्म छलफल गर्दा पनि सभापति देउवा आफूनिकटका खड्का र सिंहलाई नै उम्मेदवार बनाउनुपर्नेमा अडिग देखिएका छन्।

इलाम २ मा उम्मेदवार सिफारिस भएकाहरूसँग बिहीबार बिहान सभापति देउवालगायत पदाधिकारीले निवास बूढानीलकण्ठमा छलफल गरेका थिए।

त्यहाँ उपस्थित आकांक्षीहरूले आफूले नै चुनाव जित्ने दाबी पेस गरेका थिए। तर पार्टीले सर्वसम्मतिमा उम्मेदवार चयन गरेर एकढिक्का रहेको सन्देश दिनुपर्ने उनीहरूको भनाइ थियो।

‘सभापतिज्यूले अडान नछाडेकोले इलाममा खड्का र बझाङमा सिंहले टिकट पाउने लगभग पक्काजस्तै भयो,’ एक पदाधिकारीले भने, ‘आज अपराह्न ३ बजे बूढानीलकण्ठमै कार्यसम्पादन समिति बैठक छ, त्यसले औपचारिक निर्णय गर्नेछ।’

नेता शेखर कोइराला र महामन्त्री गगन थापा लगायतले इलाम २ मा पहिलो नम्बरमा सिफारिस भएका भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए। तर सभापति देउवा मानेनन्।

खड्का इलाम कांग्रेस सभापति हुन्। उनी २०७९ को चुनावमा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए। नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो।

अभिषेक पृथ्वीबहादुर सिंहका छोरा हुन्। पृथ्वीबहादुरले २०७९ मंसिरमा भएको प्रदेश सभा चुनाव जितेका थिए। सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन कानून मन्त्रीसमेत रहेका सिंहको गत असार ५ गते सवारी दुर्घटनामा परेर निधन भएको थियो।

अभिषेक कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य पनि हुन्।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ। इलाम २ मा ७ र बझाङमा १० जना आकांक्षीका नाम पार्टीका तल्ला समितिले केन्द्रीय कार्यालय सानेपामा पठाएको थियो।

सिफारिस भएर आएका नाममध्येबाटै उम्मेदवार छान्न लागिएको कांग्रेसले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: