Loktantra Khabar National Weekly
Ad

सुन जाँचबुझ आयोगले महरा र भण्डारीसँग लियो बयान

लोकतन्त्र खबर
२५ माघ २०८०

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ।

सिंहदरबारस्थित पूरानो गृह मन्त्रालयको कार्यालयमा रहेको आयोगले ६० किलो र ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरासँग बिहीबार दिउँसो बयान लिएको हो।

आयोगले महरासँग करिब डेढ घण्टा बयान लिएको स्रोतले जानकारी दियो। आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग पनि बयान लिएको हो।

महरा ९ किलो सुन प्रकरणमा जोडिएका थिए। भेपमार्फत तस्करी गरिएको सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा लिंक चार्ट बनाएको थियो। जसमा सुन तस्करका मुख्य नाइके भनिएका दाओजिन वाङसँग महराको सम्पर्क भएको देखिएको थियो। लिंक चार्टमै सिआइबीले महराको नाम उल्लेख गरेको थियो।

महराका छोरा राहुल पनि यसमा जोडिएका थिए। पुरक अनुसन्धान गरी राहुललाई सिआइबीले पक्राउ गरेको थियो। हाल राहुल पुर्पक्षको लागि थुनामा छन्।

आयोगले ६० किलो सुन तस्करी र ९ किलो भेपमार्फत गरिएको सुन तस्करीको सम्बन्धमा अनुसन्धान गरिरहेको हो।

जसमा प्रहरीले तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो। विध ल्याबका सञ्चालक र दावाबीच कुराकानी भएको सिआइबीले फेला पारेको थियो। उनको पनि नाम जोडिएपछि आयोगले बयानका लागि बोलाएको हो।

आयोगले तस्करी प्रकरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूको बयान लिने काम गरिरहेको छ। त्यसक्रममा महरालाई पनि बयानका लागि बोलाएको हो।

यी दुई मुद्दामा पक्राउ परी पुर्पक्षको लागि थुनामा रहेका र धरौटीमा रहेकाहरूको पनि आयोगले बयान लिएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: