नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितका कोषाध्यक्ष रेवतराज पुरी (गगन) ले पदबाट राजीनामा दिएका छन्।
उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालतले गरेको फैसला, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूविरूद्ध अभियोग दर्ता गरेकाले पदबाट राजीनामा दिएको जानकारी दिएका छन्।
सम्पत्ती शुद्धिकरणको मुद्दामा विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै ४ करोड बढी रकम जरिवाना गरेको थियो। त्यस्तै आइतबार मात्रै उनीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
झापाको दमक नगरपालिका वडा नम्बर १३ र १४ स्थित बालुवाटारको ३८४ रोपनी जग्गा निजीकरण गरेको आरोपमा ९ जना सरकारी कर्मचारीसहित १८७ जना विरूद्ध मुद्दा दायर गरेको थियो।
अख्तियारले गगन पुरीविरूद्ध तीन करोड ३५ लाख ७६ हजार ८८० रुपैयाँ जरिवाना माग गरेको थियो। उनले लिएको जग्गा पनि जफत गर्न अख्तियारले मागेको छ।
यी दुई मुद्दामा मुछिएपछि उनले पदबाट राजीनामा दिएका हुन्।
दमकको जग्गा प्राप्तीबारे उनले विज्ञप्तिमार्फत प्रष्टिकरण समेत दिएका छन्।
उनका बुबा भगवान पुरीले २००२ साल देखि जंगल फडानी गरी करिब ६० बिगाहा जमिन जोतभोग गरेको, २०२१ सालमा बुवाको नाममा २४ बिगाहा र आमा रुपादेवी पुरीको नाममा ४-१४-१० गरी जम्मा २९ बिगाहा १४ कट्ठा १० धुर जग्गाको धनीपुर्जा तत्कालीन श्री ५ को सरकारबाट प्राप्त गरेको पुरीले दाबी गरेका छन्।
त्यसरी प्राप्त गरेको पैत्रिक जमिनमाथि कानुनी अड्चन पैदागरी विभिन्न मिडिया र सामाजिक सञ्जालहरूमा गलत प्रचारबाजी भइरहेको उनले बताएका हुन्।
आफूले गैरकानुनी काम नगरेको पनि बताएका छन्।
‘वास्तवमा हामी सबै जना निर्दोस छौं र अन्यायमा परेका छौं। यस घटनाको बारेमा सत्यतथ्य छानबिन हुन जरुरी छ,’ उनले भनेका छन्।सेतोपाटी