Loktantra Khabar National Weekly
Ad

बालकृष्ण खाणलाई लुम्बिनी कांग्रेसको सम्मान: देउवाले दिए, खाणका भाइले थापे

लोकतन्त्र खबर
१७ मंसिर २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोगमा थुनामा रहेका बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ।

पहिलो प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा खाणलाई कांग्रेसले सम्मान गरेको हो।

सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइसमेत रहेका रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरेका हुन्।

‘राजनीतिक र आर्थिक रूपमा पहिले जहिल्यै पनि अभिभावकत्व गर्ने दाजु हाम्रा सामु यहाँ हुनुहुन्न। बालकृष्ण खाणज्यू, उहाँको सम्मान पत्र ग्रहण गरिदिन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाणजीलाई सम्मानपत्र ग्रहण गरिदिन अनुरोध गर्दछु,’ सम्मेलनमा उद्घोषकले भनेका थिए।

लगत्तै जिल्ला सभापति रामकृष्ण सम्मान पत्र बुझ्न पुगे। सभापति देउवाको हातबाट बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्णले बुझेका हुन्।

पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण कांग्रेस केन्द्रीय सदस्य छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा प्रहरीले गत वैशाख २७ गते निवासबाटै उनलाई पक्राउ गरेको थियो।

खाणमाथि गम्भीर अभियोग लागेकोले केन्द्रीय सदस्यबाट हटाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले पटक-पटक माग गरे पनि सभापति देउवाले ‘अदालतबाट अभियोग पुष्टि भइनसकेको’ भन्दै केन्द्रीय सदस्यबाट निलम्बन गर्न मानेका थिएनन्।

गत असार २ गते खाणसहित उक्त अभियोग लागेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाण पत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो।

यो मुद्दामा मंसिर १५ गते उच्च अदालत पाटनले आदेश दिएको थियो। अभियोग लागेकामध्ये सात जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिए पनि खाणबारे न्यायाधीशहरूको राय बाझिएको थियो।

खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच मत बाझिएको थियो। मत बाझिएकाले एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्ने विषयमा निर्णय हुनेछ। त्यसको लागि अर्को साता पेशी तोकिनेछ।

थुनामा रहेका खाणलाई किन सम्मान गरिएको हो भनेर हामीले कांग्रेस लुम्बिनी सभापति अम्मरसिंह पुनलाई सोधेका छौं। उनले सुरूमा प्रदेश कार्यसमिति गठनका बेला आर्थिक सहयोग गर्नेहरूलाई सम्मेलनका अवसर पारेर सम्मान गरिएको बताए।

‘सुरूमा प्रदेश कार्यसमिति निर्माण गर्दा केही साथीहरूले आर्थिक सहयोग गर्नुभएको थियो। तीमध्ये अलि राम्रै सहयोग गरेकोमध्ये उहाँ (बालकृष्ण) पनि हो,’ उनले सेतोपाटीसँग भने, ‘अहिलेको भूमिकाका कारण होइन, पहिले आर्थिक सहयोग गरेकोले सम्मान पत्र दिइएको हो। अहिले उहाँ जेलमा हुनुहुन्छ तर आर्थिक सहयोग गरेकाहरूलाई किन छुटाउने भनेर मात्र सम्मान पत्र दिएको हो। आर्थिक सहयोग गर्ने चार/पाँच जनालाई सम्मान गरिएको हो।’

शनिबारदेखि सुरू लुम्बिनी प्रदेश सम्मेलनमा आज बन्द सत्र हुँदैछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: