Loktantra Khabar National Weekly
Ad

मध्यरातमा पार्टी प्यालेसबाट लखेट्नेलाई खोज्न प्रहरीलाई छैन कुनै चासो

लोकतन्त्र खबर
११ मंसिर २०८०

प्रसाईंका तर्फबाट पनि कसैले गरेको छैन ‘फलो-अप’

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनमा सहभागी हुन आएका महिलाहरूलाई सुतिरहेको ठाउँबाट निकाल्नेहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

तदारूकताका साथ अनुसन्धान अघि बढाउन र उनीहरूलाई पक्रिन प्रहरी उदासीन देखिएको छ।

मंसिर ७ गते भएको दुर्गा प्रसाईंको प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट मानिसहरू काठमाडौं आएका थिए। उनीहरूमध्ये ३७ जना महिलाहरू मध्यपुर थिमि नगरपालिकाको लोकन्थलीस्थित इन्द्रसान पार्टी प्यालेसमा बसेका थिए। मंसिर ६ गते राति करिब सवा १० बजे केही युवाहरू पार्टी प्यालेसमा पुगेर ती महिलाहरूलाई अमानवीय र अपमानित तवरले निकालेका थिए।

पार्टी प्यालेसबाट निकाल्‍दा ती युवाहरू आफैंले भिडिओ खिचेर सामाजिक सञ्जालमा हालेको देखिन्छ। जुन फेसबुक, एक्स (ट्विटर) लगायत सामाजिक सञ्जालमा भाइरल भयो। तर महिलाहरूलाई जबरजस्ती पार्टी प्यालेसबाट निकालेको चार दिन बितिसक्दा पनि प्रहरीले संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छैन।

हामीले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख एसपी वेद विष्टलाई बास बसेको ठाउँबाट महिलाहरूलाई जबरजस्ती निकाल्नेहरूलाई किन पक्राउ नगर्नुभएको भनेर सोधेका छौं।

उनले यसबारे अनुसन्धान भइरहेको र संलग्नहरू फरार रहेको बताए।

‘मान्छे समाइसकेका छैनौं। केहीको पहिचान भएको छ। अहिले उनीहरू भागिरहेका छन्। उनीहरू चाँडै समातिन्छन्,’ उनले सेतोपाटीसँग भने।

त्यो रात पार्टी प्यालेसमा पस्ने कति जना थिए भन्ने यकिन नभइसकेको तर दुई व्यक्ति भने सिसिटिभी फुटेजमा देखिएको एसपी विष्टले बताए। सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा युवा संघले लखेट्यो भन्नु है भनेको पनि सुनिन्छ। यसले गर्दा युवा संघकै व्यक्तिहरूको संलग्नता थियो कि भन्ने आशंका जन्माउँछ।

कोही पक्राउ नपरेकाले उनीहरू युवा संघकै हुन् वा होइनन् भन्नेबारे यकिन भने नभएको प्रहरीले बताएको छ।

‘ती व्यक्तिहरू युवा संघका कार्यकर्ता हुन् कि होइनन् भन्ने अहिले नै थाहा हुने कुरा भएन। हामी अनुसन्धान गरिरहेका छौं। पहिचान भएका व्यक्तिहरू पक्राउ परेपछि थाहा हुन्छ। हामीसँग त्यहाँका केही सिसिटिभी फुटेज छन्। त्यसैका आधारमा खोजी गरिरहेका हौं। हुलियाहरू पहिचान भएको छ। उनीहरूको पृष्ठभूमि खुलिसकेको छैन,’ विष्टले भने।

जाहेरी परेको भए अनुसन्धान प्रक्रिया अझै सहज हुने पनि उनले बताए।

मंसिर ६ गते राति युवाहरूले पार्टी प्यालेस बाहिर निकालेपछि पीडित महिलाहरूले दुर्गा प्रसाईंलाई गुहारेका थिए। प्रसाईंका सहयोगीले प्रहरीलाई फोन गरेपछि प्रहरी राति पार्टी प्यालेस पुगेको थियो।

तर ती महिलाहरू वा उनीहरूका तर्फबाट कसैले पनि अहिलेसम्म प्रहरीमा जाहेरी दिएका छैनन्। न प्रसाईंका कुनै कार्यकर्ताले त्यो रातको ज्यादतीबारे अनुसन्धान कहाँ पुग्यो भनेर प्रहरीसँग सोधखोज गरेका छन्।

प्रसाईंका स्वकीय सचिव विनञ्जय थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीलाई सम्पर्क गरी सुरक्षा प्रदान नगरेको गुनासो गरेका थिए। त्यसपछि काठमाडौंका अपरेसन इन्चार्ज डिएसपी पवन भट्टराई पुगेर ती महिलाहरूको उद्धार गरेका थिए।

त्यस दिनदेखि ती महिलाहरू प्रहरीको सम्पर्कमा नरहेको एसपी वेद विष्टले बताए।

जाहेरीका लागि प्रहरीले दुर्गा प्रसाईंसँग सम्पर्क गरेको पनि उनले बताए।

‘अहिलेसम्म जाहेरी आएको छैन। परिसर र थिमि दुवै ठाउँमा आएको छैन। आज भोलिसम्म आउला कि!,’ एसपी विष्टले भने, ‘पीडित हाम्रो सम्पर्कमा छैनन्। दुर्गा प्रसाईं समूहलाई अनुसन्धान प्रक्रिया अघि बढाउन पीडित पक्षको जाहेरी भए सजिलो हुन्थ्यो। अनुसन्धानमा पीडितहरूको सहयोग चाहिन्छ। त्यसैले पीडितसँग सम्पर्क गराइदिनु भनेका हौं।’

सार्वजनिक भएको यस्तो ज्यादतीमा जाहेरी आएन भन्दैमा प्रहरीले अनुसन्धान गर्न नमिल्ने हो र भन्ने प्रश्नमा एसपी विष्टले भने, ‘होइन, होइन। यसमा प्रहरीको प्रतिवेदनले पनि चल्छ। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ को उपदफा ४ अनुसार प्रहरी आफैंले पनि प्रतिवेदन खडा गरेर अनुसन्धान अघि बढाउन सक्छ।’

तर जाहेरी आएको भए कति जना थिए भन्ने यकिन गर्न सजिलो हुने उनले बताए।

‘पीडितहरू हाम्रो सम्पर्कमा नआइसकेको हुँदा कति जना थिए भन्ने पनि यकिन भएन। हाम्रो अनुसन्धानबाट दुई जना देखिएका छन्। खोजेर पक्राउ गर्छौं। कहिलेकाहीँ अनुसन्धान छिट्टै हुन्छ, कहिलेकाहीँ समय लाग्छ।’

आफ्नो पक्षमा प्रदर्शन गर्न आइपुगेका महिलाहरूलाई दुर्गा प्रसाईंले प्रहरीसँग सम्पर्क गराएका छैनन्। उनको अभियानकै तर्फबाट पनि जाहेरी दिन मिल्थ्यो। त्यो पनि गरेका छैनन्।

हामीले दुर्गा प्रसाईंको अभियानका सदस्य तथा संगठन विभाग प्रमुख हरि कार्कीलाई पीडित महिलाहरू कहाँ छन्, किन जाहेरी नदिनुभएको भनेर सोध्यौं।

सुरूमा उनले पीडितले प्रहरी वृत्त थिमिमा जाहेरी दिइसकेको दाबी गरे।

प्रहरीले त जाहेरी नआएको बताएको छ भनेपछि उनले महिलाहरूको टिम क्याप्टेन आफ्नो अभियानकी केन्द्रीय सदस्य भएकाले उनैले जाहेरी दिइन् होला भन्ने सोचेको बताए।

‘त्यसपछि हामी आन्दोलनमै लागियो। जुन टिम आउनुभएको थियो, त्यसमा हाम्रो केन्द्रीय सदस्य नै टिम क्याप्टेन हुनुहुन्थ्यो। उहाँहरूले नै जाहेरी लगिसकेको भन्ने सोचियो,’ उनले भने।

त्यो रात जबरजस्ती निकालिनेमध्ये मोरङ, बेलबारीकी सम्झना राईसँग उनले सेतोपाटीको कुरा गराइदिए। राईले आफूहरू घटना भएकै दिन प्रहरी वृत्त थिमिमा पुगेको बताइन्। तर मुद्दा शाखा प्रमुख नभएपछि आफूहरू अरू कुनै दिन जाने भन्दै फर्किएको उनले बताइन्।

‘घटना भएपछि हामी त्यहाँ गयौं। तर सर नभएपछि फर्कियौं। पछि हामी आन्दोलनमा व्यस्त भयौं,’ राईले भनिन्, ‘आज एक जना दिदी सिडिओलाई भेट्न जानुभएको थियो। त्यहाँ ठाडो निवेदन दर्ता भयो। अब जाहेरी लिएर आउनु भन्नुभएको छ। पक्राउ गर्छौं भन्नुभयो।’

प्रसाईंको अभियानका मानिसहरूले यो घटना नेकपा एमालेनिकट युवा संघका युवाहरूले गराएको आरोप लगाएका छन्।

युवा संघले भने विज्ञप्ति नै जारी गरेर सो आरोप खण्डन गरेको छ। संघका अध्यक्ष क्षितिज थेबेले आफूहरूलाई बदनाम गर्ने उद्देश्यले सामाजिक सञ्जालमा भिडिओ फैलाइएको भन्दै विज्ञप्ति जारी गरेका थिए। थेबेले आइतबार सेतोपाटीसँग कुराकानी गर्दै स्थानीय नेताहरूको संलग्नता नदेखिएको बताएका थिए।

‘हामीले पनि प्रहरीलाई यसमा संलग्न व्यक्तिहरूको खोजी गर्नुहोस् भनेका छौं। सिसिटिभीमा मान्‍छे देखिएका होलान्। प्रहरीले पनि पत्ता लागेको छैन भनेका छन्। पत्ता लागेर हाम्रो मान्छे रहेछ भने म कारबाही गर्छु,’ उनले भने, ‘तर हाम्रो पार्टीका मान्छे होइनन्। मलाई विश्वास पनि छैन। स्थानीय नेताहरूलाई सम्पर्क गरेर पनि सोधेको थिएँ। उहाँहरूले पनि होइन नै भन्नुभएको छ।’

मंसिर ६ गते राति पार्टी प्यालेस पुगेका युवाहरूले भिडिओ खिच्दै सुतिरहेका महिलाहरूलाई सोधेका थिए, ‘७ गतेको कार्यक्रममा आउनुभएको हो? हेलो दिदीहरू?’

धम्कीपूर्ण शैलीमा ती युवाको समूहले महिलाहरूलाई पार्टी प्यालेसबाट छिटो निस्किन भनेको भिडिओमा देखिन्छ। त्यसैबीच ती महिलाहरूले आफूहरू जाने तर लुगा लगाउन दिन अनुरोध समेत गरेका थिए।

महिलाहरूले भनेका छन्, ‘हामी जान्छौं, लुगा लगाउन दिनुस् हामीलाई।’

त्यहाँबाट निस्केर महिलाहरूले दुर्गा प्रसाईंलाई फोन गरेका थिए। अनि प्रसाईंले प्रहरीलाई फोन गरेका थिए। प्रहरी आएपछि भने महिलाहरूलाई त्यही ठाउँमै राखिएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: