शुक्रबार मध्यरातको भूकम्पबाट ज्यान जोगाएका जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका बासिन्दा स्वास्थ्यसम्बन्धी प्रकोपको जोखिममा परेका छन् । चिसो यामका बेला खुला ठाउँमा त्रिपालमुनि बसाइ, स्वच्छ पिउने पानीको अभाव र खुला शौचको बाध्यताजस्ता कारण भूकम्पपीडित बिरामी पर्न थालिसकेका छन् ।
जिल्ला अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । भूकम्पपीडितका लागि भरपर्दो गाँस–बासको प्रबन्धसँगै औषधि–उपचार र स्वास्थ्य सतर्कतालाई उच्च प्राथमिकता दिनुपर्ने भएको छ ।
भूकम्पबाट सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएका जाजरकोट र रुकुम झाडापखाला, मौसमी रुघाखोकीजस्ता प्रकोप पटक–पटक फैलिएका जिल्ला हुन् । ती जिल्लामा १४ वर्षअघि झाडापखालाले महामारीको रूप लिँदा तीन सय जनाभन्दा बढीको मृत्यु भएको थियो । यस पटक भूकम्पले करिब ३५ हजार परिवारलाई खुला ठाउँमा पुर्याएको छ । यस्तो बेला स्वास्थ्य सतर्कता अपनाउन नसके फेरि प्रकोप फैलने जोखिम उच्च रहन्छ । अहिले नै भूकम्पपीडितमा ज्वरो र रुघाखोकीको समस्या देखिन थालिसकेको छ । कतिपय क्षेत्रमा भूकम्पका कारण पानीको मुहान भत्किएपछि खोलाको पानी पिउनुपर्ने बाध्यता बनेको छ । त्यस्ता पीडितलाई पानी शुद्धीकरण गरेर पिउनुपर्छ भनेर व्यापक रूपमा सचेतना जगाउन र शुद्धीकरणका उपाय सिकाउन ढिला भइरहेको छ । उनीहरू पानी शुद्धीकरण गराउने सामग्री पनि उपलब्ध गराउन जरुरी छ । भूकम्पमा मरेका पशुचौपाया पनि स्वास्थ्य प्रकोप फैलाउने कारक बन्ने जोखिम उच्च देखिएको छ । केही क्षेत्रमा मरेका पशुचौपाया कुहिन थालेकाले आसपासमा दुर्गन्ध फैलिन थालिसकेको छ । मरेका पशुचौपायालाई जतिसक्दो छिटो व्यवस्था गर्नुपर्छ । भूकम्प प्रभावित क्षेत्रमा फोहोर र दुर्गन्ध नफैलने गरी अस्थायी खालका शौचालय निर्माणमा सरकारले सहयोग गर्नुपर्छ, समुदायलाई पनि प्रोत्साहन गर्नुपर्छ ।
सरकारले भूकम्पपीडितलाई त्रिपाल, कम्बल र खाद्य सामग्री वितरण गरिरहेको छ । त्यति राहत पनि यतिका दिन बितिसक्दा सबैका हातमा एकसरो पुग्न सकेको छैन । सरकारले न्यूनतम राहत पनि सबै पीडितलाई यतिन्जेल पुर्याउन नसक्नु लज्जास्पद छ । राहत वितरण प्रणाली छिटोछरितो हुनुपर्छ । मध्यरातमा अचानक भूकम्प जाँदा अधिकांशले लत्ताकपडा बाहिर निकाल्न पाएका थिएनन् । सरकारले उनीहरूलाई चिसोबाट जोगाउने गरी न्यानो खालका सामग्री उपलब्ध गराउन ध्यानै दिएको देखिँदैन । शीत चुहिने त्रिपालमुनि चिसो रात कटाउनुपर्दा बालबालिका, वृद्धवृद्धामा रुघाखोकीजस्ता स्वास्थ्य समस्या देखिन थालेको छ । जाडोका कारण राति सुत्नै नसकेको भूकम्पपीडितले बताइरहेका छन् । खुला ठाउँमा सामान्य लत्ताकपडाका भरमा सुत्केरी, दीर्घरोगीलगायतले कष्टप्रद तरिकाले रात कटाइरहेका छन् । सरकारले सकभर सबैलाई, नभए पनि बढी समस्यामा पर्न सक्ने व्यक्ति वा परिवार पहिचान गरेर न्यानो खालका लत्ताकपडा जतिसक्दो छिटो उपलब्ध गराउनुपर्छ । घर पुनर्निर्माण भएर पुनःस्थापना हुन समय लाग्ने भएकाले अस्थायी छाप्रा निर्माणमा प्रेरित गर्नुपर्छ, सहयोग गर्नुपर्छ । सदरमुकाममा रहेका अस्पताल र पालिकास्तरमा रहेका स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मी र औषधि तम्तयार राख्नुपर्छ । भूकम्पीडित बस्तीमा घुम्ती स्वास्थ्य शिविर पनि सञ्चालन गर्नुपर्छ ।
शुक्रबार मध्यरातयता जाजरकोट आसपास क्षेत्रमा करिब साढे चार सय पटक परकम्प गइसकेको छ । ४ म्याग्निच्युडभन्दा माथिको परकम्प नै १० पटक गएको छ । सोमबार दिउँसो सबैभन्दा ठूलो परकम्प गयो, जुन ५.८ म्याग्निच्युडको थियो । भूकम्पमा मानवीय र भौतिक क्षति बेहोरेका बेला यसरी निरन्तर गइरहेको परकम्पले मानिसलाई अत्याइरहेको छ । धेरैजसो पीडित डरले राम्ररी निदाउन सकेका छैनन् । बालबालिकामा पनि डराउने, तर्सिनेजस्ता समस्या देखिन सक्छ । त्यसैले भूकम्पपीडितका लागि मनोपरामर्शको व्यवस्था गर्नुपर्छ । राहत लिएर वा प्रभावित क्षेत्र अवलोकनका नाममा बाहिरबाट गएका मानिसले उही घटना बारम्बार कोट्याइदिएर पीडितलाई थप आहत पार्नु हुँदैन भन्नेमा पनि सजग रहनुपर्छ । कान्तिपुर