Loktantra Khabar National Weekly
Ad

कोशीमा केदार कार्कीलाई ‘ब्याक’ गराउन राष्ट्रपति र प्रधानमन्त्रीले गरे शेखरलाई फोन

लोकतन्त्र खबर
२६ आश्विन २०८०

शेखरले भने- आङ्बोलाई ‘ब्याक’ गराउनुस्, हामीले पार्टी बचाउनुछ

कोशी प्रदेशमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा (एमाले)का ३९ र कांग्रेसका ८ गरी कूल ४७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेसभित्र तरङ्ग पैदा गरेको छ।

कांग्रेससहित माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले माओवादी संसदीय दल नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेका थिए। तर यो निर्णय कोशीमा शेखर कोइरालानिकट सांसदहरूले अस्वीकार गरेका थिए।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर कार्की र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। कार्कीले ४७ सांसदको हस्ताक्षर बुझाएका छन् भने आङ्बोले संसदीय दल नेताहरूको हस्ताक्षर बुझाएका छन्।

कोशीमा कांग्रेस केन्द्रले गरेको निर्णयविपरीत नेता कोइराला पक्षका सांसदहरू उभिएपछि त्यसले पार्टीभित्र तरङ्ग पैदा गरेको छ।

नेता कोइरालालाई राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता ज्ञानेन्द्र कार्की लगायतले कोशीमा विकसित राजनीतिक घटनाक्रमबारे टेलिफोन गरी कुराकानी गरेका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेता कोइरालालाई फोन गरेका हुन्। कोशीमा सांसद कार्कीले पनि मुख्यमन्त्रीमा उम्मेदवारी दिएको विषयमा केन्द्रित रहेर उनले कुराकानी गरेका थिए।

‘राष्ट्रपतिज्यूले पनि कोशी मुख्यमन्त्रीको विषयमा चासो राख्दै नेता कोइरालालाई फोन गर्नुभएको हो,’ कोइरालानिकट एक केन्द्रीय सदस्यले भने, ‘जवाफमा कोइरालाले सभापति, महामन्त्रीहरू नेता कृष्ण सिटौला लगायतले माओवादीका आङ्बोलाई मुख्यमन्त्री छाड्न तयार भएको कुरा मैले प्रचण्डको मुखबाट सुन्नुपर्‍यो, कस्तो पार्टी बनायौं हामीले भन्ने कुरा राष्ट्रपतिसँग राख्नुभयो।’

कोइरालाले आफूलाई पार्टीभित्र घेराबन्दी गर्न खोजिएको बताएका थिए।

‘राजनीतिमा मलाई भित्तामा पुर्‍याउन खोजियो, घेराबन्दी गर्न खोजिएको छ,’ कोइरालाले राष्ट्रपति पौडेलसँग भने, ‘त्यसकारण हामी कोशीमा ब्याक हुन सक्दैनौं। पार्टी बचाउन मैले यो निर्णय गरेको हुँ। गठबन्धनभित्र कोशी कांग्रेसले लिने पहिले नै सहमति भएको हो, अहिले छाड्न मिल्दैन।’

यसपछि कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेता कोइरालासँग टेलिफोनमा कुराकानी गरेका थिए।

कार्कीले पनि कोशीमा विकसित राजनीतिक घटनाक्रमबारे कोइरालासँग चासो राखेका थिए। जवाफमा कोइरालाले कोशीका ८ जना कांग्रेसका सांसदलाई कारबाही गर्न नमिल्ने बताएका थिए। ‘तपाईंहरूले संविधान पढ्नुभएको छ? कसरी कोशीका सांसदलाई कारबाही गर्न र फिर्ता बोलाउन मिल्छ?,’ कोइरालाको प्रश्न थियो, ‘सभापति देउवाजीलाई भनिदिनू- कोशीमा शेखर ब्याक हुँदैन।’

सभापति देउवाले भने कोइरालासँग कुराकानी गरेका छैनन्।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कोइरालालाई फोन गरेका छन्। प्रधानमन्त्री दाहालले कोशी मुख्यमन्त्रीमा दाबी पेश गरेका सांसद कार्कीलाई फिर्ता बोलाउन कोइरालालाई आग्रह गरेका थिए।

‘प्रधानमन्त्रीज्यूले आज बिहान नेता कोइरालालाई फोन गर्नुभएको थियो। प्रधानमन्त्रीले सांसद कार्कीलाई मुख्यमन्त्रीको दाबीबाट पछि हटाउनुपर्‍यो भन्ने कुरा राख्नुभएको हो,’ कोइरालानिकट ती नेताले भने, ‘तर कोइरालाले हुँदैन भनिदिनुभयो। तपाईंहरूले आङ्बोजीलाई नै ब्याक गर्नुहोस्, हामी ब्याक हुन मिल्दैन भन्नुभएको छ।’

नेता कोइरालाले कोशीमा विकसित राजनीतिक घटनाक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको साथ नपाइएको गुनासोसमेत आफूनिकट नेताहरूसँग राखेका छन्। कोशीमा सांसद कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेको विषयमा महामन्त्रीद्वयले सार्वजनिक रूपमा प्रतिक्रिया दिइसकेका छैनन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: