Loktantra Khabar National Weekly
Ad

एसपीसहित चार प्रहरीलाई कारबाहीको माग गर्दै ११८ दिनदेखि माइतीघरमा बसिरहेकी निर्मला देवी

लोकतन्त्र खबर
२४ आश्विन २०८०

१६ तोला सुन, १६ तोला चाँदी र फर्निचर दाइजो दिए पनि नपुगेको भन्दै परिवारले छोरीको हत्या गरेको उनको दाबी छ

काठमाडौं । सरकारलाई आफ्नो असन्तुष्टिको आवाज सुनाउने थलो बनेको छ– माइतीघर मण्डला । पछिल्लो समय मण्डला दक्षिण भागमा विरोधको कार्यक्रम नभएको दिन हुँदैन ।

सहरको मध्यभागमा भइरहने विरोध कार्यक्रमले कहिलेकाहीँ ट्राफिक हैरानी मात्रै होइन, आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी नै पर्छ । मण्डलामा सरकारप्रति आक्रोश पोख्न राजनीतिक दलका नेतादेखि प्रहरी, प्रशासनबाट पीडित बनेका सहरका सामाजिक संघ–संस्थादेखि गाउँ–गाउँबाट पीडित भेला हुने गर्छन् ।

त्यसैको बलमा अधिकांशको प्रदर्शनकारीसँग सरकार सम्झौता गर्न बाध्य हुन्छ । केही दिनअघि मात्रै शिक्षा विधेयकको विरोधमा उत्रिका शिक्षकहरुले आफ्नो माग पूरा गरी घर फर्किए । आइतबारदेखि कर्मचारी पनि आन्दोलनमा छन् । उनीहरुको ठूलो भीड छ ।

तिनै भीड र व्यस्त मण्डलामा एउटा पोस्टर टागिएको छ, जसमा लेखिएको छ– ‘मोस्ट करप्ट क्रिमिनल पुलिस ।’ पोस्टरमा चार जना प्रहरी अधिकारीको फोटो राखिएको छ । धनुषा प्रहरी प्रमुख एसपी विश्वराज खड्का, डीएसपी वेदप्रसाद गौतम, सई जयप्रकाश साह र प्रहरी जवान हनुमान राईको फोटो राखिएको हो ।

पोस्टरमात्रै होइन त्यहीँ पोस्टरसँगै एक महिला साढे तीन महिनादेखि धर्नामा बसेकी छन् । तर, उनीसँग सरकारलाई आजको भोलि नै प्रभाव पार्ने भीड, सामथ्र्य छैन । त्यहीँ पोस्टर टाँसेर दिनरात धर्नामा बसेका छन्– न्यायका लागि भन्दै ।

को हुन् ती महिला ?  

प्रहरीकै फोटोसहितको पोस्टर बनाएर त्यसरी धर्नामा बसेकी महिला हुन्– धनुषाकी निर्मला देवी साह ।

उनी त्यसरी धर्नामा बसेको बुधबार एक सय १८ दिन पूरा भएको छ । निर्मला त्यसरी धर्नामा बस्नुको कारण भने आफूलाई प्रहरीले न्याय दिनुको साटो झन् पीडा थपेको आरोप छ । निर्मलाकी छोरी २२ वर्षीय आरती साहको ६ जेठमा मृत्यु भएको थियो । करिब २ वर्षअघि धनुषाकै मोतीबाबु साहसँग आरतीको विवाह भएको थियो ।

विवाहमा निर्मलाको परिवारले १६ तोला सुनको गरगहना १६ तोला चाँदी र फर्निचरका सामग्री दाइजोको रुपमा दिएका थिए । तर, मोतीबाबुले भने थप दाइजोको नाममै सधैँ यातना दिने र त्यही कारण छोरीको ज्यान गएको आरोप निर्मलादेवीको आरोप छ ।

धर्नामा बसेकी निर्मलाले दाइजोको नाममा छोरीको हत्या हुँदा समेत धनुषा प्रहरीले सत्य–तथ्य अनुसन्धान नगरेको बताउँछिन् ।  उनले मंगलबार  बाह्रखरी सँग कुरा गर्दै भनिन्, “म यहाँ धर्नामा बसेको ११७ दिन भयो । मेरो बेटी मरेको होइन मोतीबाबुले हत्या गरेको हो । प्रहरीले अनुसन्धान गरेन । सबैभन्दा खराब त्यो एसपी विश्व खड्का हो । त्यसले उल्टै हामीलाई कुटपिट गर्‍यो । मेरो कानको जाली नै फुट्यो । मोतीबाबुसँग मिल्यो ।”

आरती २ महिनाको गर्भवती हुँदा मोतीबाबुको कुटपिटबाट उनको हत्या भएको निर्मला देवीको आरोप छ । एसपी खड्काबारेको आरोप बुझ्ने प्रसाय गर्दा भने उनी विदामा रहेको जानकारी धनुषा प्रहरीले दियो ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाका डीसएसपी रन्जन अवाले भने पीडितले दिएको उजुरीको अरोपमा मोतीबाबु र उनका बुबालाई पक्राउ गरिएको बताउँछन् ।

“पीडितको उजुरीको आधारमा मोतीबाबु र उनका बुबालाई पक्राउ गरेर जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामासमेत पठाएको थियो । उच्च अदालतको आदेशले उनीहरु छुटे,” डिएसपी अवालेले भने, “प्रहरीले गर्नुपर्ने सबै काम गरेको छ ।”

हाल धुनषाबाट डीएसपी वेदप्रसाद गौतमसमेत सरुवा भइसकेका छन् । बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: