Loktantra Khabar National Weekly
Ad

एमाले गण्डकीमा पृथ्वीसुब्बा र खगराजका यस्ता छन् छुट्टाछुट्टै प्यानल

लोकतन्त्र खबर
१७ आश्विन २०८०

वरिष्ठ उपाध्यक्ष, महासचिवसहित पदाधिकारी नै विभाजित

नेकपा (एमाले) गण्डकीको जारी अधिवेशनमा नेतृत्व चयनका लागि चुनाव हुने पक्कापक्की भएको छ।

प्रदेश अधिवेशनहरूमा एमाले भित्रको नयाँ शक्ति संघर्ष देखिइरहँदा गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच प्रतिस्पर्धा देखिएको छ। दुबैले गण्डकीलाई प्रतिष्ठाको विषय बनाउँदै आफूले समर्थन गरेको नेतृत्व जिताउन लागिपरेका छन्। प्यानलहरू पनि त्यसरी नै तयार पारेको एक प्रतिनिधिले बताए।

उपमहासचिव गुरूङ र स्थायी कमिटी सदस्य अधिकारी अलग-अलग प्यानलका साथ मैदानमा प्रस्तुत हुँदा एमालेका पदाधिकारीहरू पनि विभाजित देखिएका छन्। उपमहासचिव गुरूङको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सचिव पद्मा अर्याल, सचिव गोकर्ण विष्ट (अध्यक्ष मण्डलका अध्यक्ष तथा, गण्डकी इन्चार्ज), किरण गुरूङ खुलेको एक नेताले बताए।

‘पद्मा र किरणजीले सर्वसम्मतिका लागि प्रयास गर्नुभएको हो। तर, सर्वसम्मति हुने नदेखिएपछि पिएसकै पक्षमा खुल्नु भएको छ,’ एक नेताले भने, ‘पद्माका विश्वास पात्र मानिएका पुष्पज्योति ढुंगाना र रामकृष्ण ज्ञवाली, वालिङका मेयर कृष्ण खाण, स्याङ्जाका पार्टी जिल्ला उपाध्यक्ष मोहन रेग्मी पिएसका पक्षमा खुलेपछि उहाँलाई गाह्रो पनि भयो।’

स्थायी कमिटी सदस्य अधिकारीको पक्षमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल खुलेका छन्। महासचिव पोखरेल काठमाडौं फर्किइसकेको भए पनि निकट नेताहरूलाई मायानाथ अधिकारीलाई अध्यक्ष जिताउन निर्देशन दिइरहेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने अहिले कसैलाई समर्थन नदिएको र मौन बसेको दुवै पक्षको दाबी छ। ‘उहाँले सकेसम्म सर्वसम्मति गर्नुहोस् भन्नुभएको थियो। त्यो नहुने भएपछि उहाँले कसैलाई वचन दिनुभएको छैन। उहाँ पिएसलाई चिढ्याउने पक्षमा देखिनुभएन,’ एक नेताले भने।

उम्मेदवारी दर्ताका लागि अहिले बिहान ७ देखि ९ बजेसम्म तय गरिएको छ। उम्मेदवारी दर्तापछि सर्वसम्मतिको प्रयास हुने बताइएको छ। सर्वसम्मतिको सम्भावना नरहेको हुँदा बुधबारै साँझबाट मतदान सुरू हुने एक प्रतिनिधिले बताए।

उपमहासचिव गुरूङले बनाएको प्यानलबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मालाई अघि सारिएको छ। उनी निवर्तमान अध्यक्ष पनि हुन्।

उपाध्यक्षमा स्याङ्जाका मीनबहादुर गुरूङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिक तय भएको  गुरूङनिकट एक नेताले जानकारी दिए।

लेखा आयोग प्रमुखमा नवलपुरका अमृत ज्ञवाली र उपाध्यक्षमा गोरखाका गिरिधारी बास्कोटा र सचिवमा बाग्लुङका वीरबहादुर बिकलाई अघि सार्ने तयारी गरेका छन्।

अधिकारी समूहले अध्यक्षमा लमजुङका मायानाथ अधिकारी, उपाध्यक्षमा नवलपुरका बाबुराम बिक, सचिवमा कास्कीका रश्मी आचार्यलाई अघि सार्ने तयारी गरेको छ। उपसचिवमा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरूङलाई अघि सार्ने निश्चित देखिएको छ। रावलले युवा संघको अध्यक्षमा क्षितिज थेवेसँग प्रतिस्पर्धा गर्न खोजेका थिए। तर नेतृत्वले थेवेलाई सर्वसम्मत गरेपछि युवा संघमा चुनाव नै भएन। गुरूङलाई उपमहासचिव रिमालले अघि सारेका हुन्।

अधिवेशनबाट १ सय ६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ। यसअघि लुम्बिनी, बागमती र कर्णाली प्रदेशमा अधिवेशन सकिइसकेको छ। लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल र कर्णालीमा गुलाबजंग शाह र कोशीमा घनश्याम खतिवडा प्रदेश अध्यक्ष निर्वाचित भइसकेका छन्। यसपछि उपत्यका विशेष, सुदूरपश्चिम र मधेस प्रदेशमा अधिवेशन हुने छन्।

नेकपा (एमाले)ले संगठन सुदृढीकरण अभियानअन्तर्गत तहगत कमिटीको अधिवेशन गरिरहेको हो। एमालेले २०८० लाई अधिवेशनको वर्ष मानेको छ। मातहत कमिटीका अधिवेशनले एमालेभित्र नयाँ खालको सत्ता–संघर्षको संकेत गरेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: