Loktantra Khabar National Weekly
Ad

नेपालगञ्जको स्थिति नियन्त्रणउन्मुख छ: सिडिओ आचार्य

लोकतन्त्र खबर
१६ आश्विन २०८०

बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विपीन आचार्यले नेपालगञ्जको स्थिति नियन्त्रणउन्मुख रहेको बताएका छन्।

सामाजिक सद्भाव खलबलिने आशंका बढेपछि स्थानीय प्रशासनले मंगलबार नेपालगञ्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।

कर्फ्यू जारी भएसँगै अहिले स्थिति सामान्य भएको सिडिओ आचार्यले बताए। केही ठाउँमा भने प्रदर्शन गर्न मानिसहरू भेला भएका छन्।

प्रदर्शन गर्न भेला भएका ठाउँमा हुलहुज्जत गर्न खोज्नेलाई नियन्त्रणमा लिने सिडिओ आचार्यले बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिइएको बताए। आवश्यक्ता अनुसार नियन्त्रणमा लिइने उनको भनाई थियो।

बाँकेमा ओमकार परिवार हिन्दु समाजका एक जना व्यक्तिले असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गरी फेसबुकमा लेखेको स्टाटसका कारण नेपालगन्जमा तनाव सिर्जना भएको हो।

स्टाटस लेखेपछि मुस्लिम समुदायका मानिसले नेपालगञ्जमा विरोध र्‍याली निकालेको थियो। तर मंगलबार बिहान ओमकार हिन्दु समाजले पनि विरोध र्‍याली निकालेको थियो।

र्‍यालीमा सहभागी व्यक्तिहरूले सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा, उच्छृंखल गतिविधि गरेपछि धार्मिक सद्भाव भड्किन सक्ने भन्दै प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको हो।

प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्‍यू लगाएको छ।

मुस्लिम समुदायमाथि लक्षित गरी स्टाटस लेख्ने व्यक्तिको पनि खोजी गरिरहेको प्रशासनले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: