Loktantra Khabar National Weekly
Ad

फुटपाथ व्यापारीको माग पूरा गराउन म नढलुञ्जेल उभिइरहन्छुः ईः

लोकतन्त्र खबर
१० आश्विन २०८०

अभियन्ता ईःले आज (बुधबार) ९ औं दिन पनि राष्ट्रिय सभा गृहको गेटमा उभिएर महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचा सम्झाइरहेका छन्।

घोषित १९९ घन्टा बिहीबार (आज) राति १० बजे सकिने भए पनि उनले लम्ब्याउने बताए।

‘हिजो एकदम निराश पनि थिए। बिहान एक कप चिया खाएको भरमा उभिँदा थाकेकाले पनि ममा नैराश्यता आएको रहेछ,’ उनले सेतोपाटीसँग भने, ‘फुटपाथ व्यवसायीहरूको पीडाले पनि मलाई थाक्न दिएन। आज राति दस बजे १९९ घन्टा पूरा हुन्छ। अनपेक्षित ढंगले लम्ब्याउने मनःस्थितिमा छु।’

काठमाडौं महानगरपालिकाले वार्तामा नाममा अल्मल्याउन खोजेको उनले बताए। फुटपाथ व्यवसायी केही पनि होइनन्, यिनीहरूलाई पेलेर जान सकिन्छ भन्ने दम्भले हिजो सहमतिमा पुग्न नदिएको पनि बताए।

‘हिजो दिनभरिको छलफल, कुराकानी मेयर बालेन शाहको टेबलमा गएपछि असफल भयो। मेयर बालेनको प्रस्तुतिले म निराश पनि भएँ। पीडाले थिलोथिलो पनि भएँ। तर, आज ममा आत्मविश्वास पनि आइसकेको छ। नढलुञ्जेल उभिइरहन्छु,’ उनले भने।

असोज २ गतेदेखि उभिइरहेका ईःसँग काठमाडौं महानगरपालिकाले ८ दिनपछि मंगलबार वार्ता गरेको थियो। तैपनि सफल हुन सकेन।

मेयर बालेनकै अहम् र दम्भले सफल हुन नदिएको ईःले बताए।

साविकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्ने, कोटेश्वर चोकबाट जडिबुटी जाने बाटो, तिलगंगाअगाडि, चाबहिल मालपोत पछाडिलगायत केही ठाउँमा समय तोकेर छठसम्म व्यापार गर्न एक हप्ताभित्र ठाउँ उपलब्ध गराउने गरी वार्ता समितिले सहमति मस्यौदा गरेको थियो।

मेयर बालेनको टेबलमा पुगेपछि काठमाडौं महानगरको वार्ता टोली यसबाट पनि पछि हटेको र वार्ता निष्कर्षविहीन भएको ईःले बताए।

‘हामी वार्ताका लागि खुला छौं। दसैं, तिहारजस्ता पर्व आएको छ। दुई छाक खानसमेत धौ-धौ भएका परिवार यहाँ आउनुहुन्छ। दिनभरि बस्नु हुन्छ। उहाँहरूको पीडाले पनि मलाई उभिइरहन आत्मबल दिएको छ,’ उनले भने।

काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्ने लगायत माग ईःले राखेका छन्।

महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार अन्त्य गर्नुपर्ने माग पनि ईःले गरेका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: