
लोकतन्त्र समाचारदाता—
सर्लाही,असोज २
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाको कार्यालय अगाडी यूवाहरुले अघोषित लोडसेडिङविरुद्ध टायर बालेर प्रदर्शन गरेका छन् ।
अघोषित लोडसेडिङले उपभोक्ताहरुलाई समस्यामा पर्ने गरेको भन्दै मलंगवाका स्थानीय युवाहरुले सोमबार राती लाइन कटेको समयमा प्राधिकरणको गेट अगाडी टायर बालेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले विद्युत माफिया प्राधिकरण प्रमुख मुर्दावाद, अघोषित लोडसेडिङ बन्द गर, विद्युत प्राधिकरण मुर्दावाद जस्ता नारा लगाएका थिए ।
दिउँसो मर्मतको बहानामा र राती सिस्टममा खराबी आएको कारण देखाउँदै दिनहुँजसो लाइन काट्दै आएकोले बाध्य भएर प्राधिकरणको बिरुद्धमा प्रदर्शन गर्नु परेको मलंगवा नगरपालिका वडा न-२ का युवा रितेश कुमार सोनीले बताए ।
यस्तो प्रचण्ड गर्मीमा प्राधिकरणले अग्रिम सूचना समेत ननिकाली मनपरि रुपमा लाइन काट्ने गरेकाले गर्मीबाट बच्न पंखा,कुलर समेत चलाउन नपाएको प्रदर्शनमा उत्रिएका युवाहरुले गुनासो गरेका छन् ।
यदी मर्मतको काम चलिरहेको छ भने नियमितरूपमा लाइन संचालन नहुन्जेलसम्म विधुत महसुलमा छुट दिनुपर्ने र ढिलोगरि महसुस बुझाउँदा तिर्नुपर्ने जरिवाना पुरै माफ गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।
यथाशीघ्र अघोषित लोडसेडिङ बन्द नगरे प्राधिकरण विरुद्ध कडा संघर्ष गर्ने मलंगवा न.पा-२ कै अर्का युवा राम विश्वास साहले चेतावनी दिए ।