Loktantra Khabar National Weekly
Ad

दुई समुदाय बिचको विवाद समाप्त हुन थालेपछि मलंगवाको अवस्था सामान्य,घटनाको छानबिन चल्दै

लोकतन्त्र खबर
२८ भाद्र २०८०

मनोज यादव—
सर्लाही,भाद्र २८

दुई समुदाय बिचको विवादका कारण विगत ५ दिनदेखि तनावग्रस्त रहेको
सर्लाही सदरमुकाम मलंगवाको अवस्था बुधबारबाट सामान्य बनेको छ । बिहानैदेखि बजारमा मानिसहरुको चहलपहल सुरु भएसँगै बन्द रहेका पसलहरु खुलेका छन्। लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरु पनि निर्वाधरुपमा गुडेका छन्।

गत शुक्रबार कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच विवाद उत्पन्न भएपछि मलंगवाको अवस्था तनावग्रस्त बनेको थियो ।सुरुको दिनमा अवस्था नियन्त्रण बाहिर रहेकाले जिल्ला प्रशासनलाई शनिवार साँझ ५ बजेदेखि आइतवार बिहान ८ बजेसम्मको लागि मलंगवा नगर क्षेत्रमा कर्फ्यु लगाउनु परेको थियो। त्यसपछि शान्ति सुरक्षा कायम राख्नका लागि कर्फ्यु समाप्त भएकै समयदेखि बुधबार राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गर्नु परेको थियो।

दुवै समुदायबीचको तनाव लगातार ५ दिनसम्म चलेपनि बिस्तारै विवाद केही केही शान्त भएपछि बुधबारबाट मलंगवा बजार पूर्णरुपमा खुलेको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले दुई समुदायबीचको विवाद लगभग समाप्त भई जनजीवन पहिलाको जस्तै सहज र सामान्य भइसकेको जानकारी गराएका छन् ।

स्थानीय प्रशासनको सही निर्णय र सुरक्षाकर्मीहरुको सक्रियताका कारण छिटफुट घटना बाहेक मलंगवासहित जिल्लाका कुनैपनि ठाउँमा अप्रिय घटना नभएको प्रजिअ यादवले बताए ।

मलंगवा घटनाको विषयमा छानबिन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरि ९ सदस्यीय समिति गठन गरिएको छ । घटनाको छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: