Loktantra Khabar National Weekly
Ad

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धनका लागि कबिलासीमा अन्तरक्रिया गरियो

लोकतन्त्र खबर
२८ भाद्र २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,भाद्र २८

सर्लाहीको कबिलासीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिबास महोत्तरीको आयोजना तथा कबिलासी नगरपालिकाको सहकार्यमा वडा न-८ अगर्वा स्थित रामजानकी मठको सभाहलमा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

आयोगको बर्दिबास स्थित कार्यालयका उपसचिव कृष्ण प्रसाद हुमागाईंको अध्यक्षता तथा नगरप्रमुख ब्रह्मदेव रायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित सहभागीहरुलाई आयोग का काम,कर्तव्य र अधिकारको साथै सर्लाही जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, फैसला भएका र फैसला हुन बाँकी रहेका उजुरीहरुको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागी भएका स्थानीय कर्मचारीहरु,पालिका जनप्रतिनिधिहरु लगायत स्थानीय नागरिकहरुले आ–आफ्नो जिज्ञासा र गुनासोहरु राखेर अख्तियारलाई सुझाव दिएका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथिको आसनबाट बोल्दै उपप्रमुख पुनम कर्णले मधेस प्रदेशका ८ वटै जिल्लाहरु मध्येबाट सबैभन्दा बढी उजुरीहरु यसै पालिकाबाट परेकोले यसलाई सुधार गर्न सबै कर्मचारी र जनप्रतिनिधिहरु एकजुट भएर लाग्नुपर्ने बताइन्। उनले अबको केही दिनभित्रै समस्यामा सुघार ल्याएर एउटा पनि उजुरी नपर्ने पालिकाको रुपमा स्थापित गर्ने दाबी समेत गरे।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह,वडा न-९ का वडाअध्यक्ष राम दिनेश रायसहित १० वटै वडाका वडाअध्यक्षहरु,कार्यपालिका सदस्यहरु लगायत स्थानीयबासी र पत्रकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन आयोगका इन्जिनियर रौशन थापाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: