Loktantra Khabar National Weekly
Ad

मधेस प्रदेश अर्थमन्त्री यादवले फहराए मलंगवा स्थित नेपाल-भारत बोर्डरमा १०८ फिटको राष्ट्रिय ध्वज

लोकतन्त्र खबर
२० भाद्र २०८०

मनोज यादव—
सर्लाही,भाद्र २०
सर्लाहीको सदरमुकाम मलंगवा नजिक रहेको नेपाल-भारत सिमा अन्तर्गत मलंगवा-सोनवर्षा नाकामा १०८ फिटको राष्ट्रिय झण्डा फहराइएको छ। नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा मंगलबार दिउँसो मलंगवा नगरपालिकाले आयोजना गरेको एक समारोहका बिच प्रमुख अतिथि मधेस प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले दशगजा नजिक निर्माण गरिएको मलंगवा गौरव नामक पार्कमा १०८ फिटको राष्ट्रिय झण्डा फहराएका हुन ।
नगरको गौरवको रुपमा रहेको उक्त पार्क मधेस प्रदेश सरकारको विशेष अनुदान बाट प्राप्त ३० लाख रुपैयाको लागतमा २०८० साल असाढ ४ गते नगरप्रमुख यादवद्वारा शिलान्यास भइ भदौ १८ गते निर्माण सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जनाएको छ ।
उद्घाटन समारोहमा मधेस प्रदेश सांसद कौशल किशोर राय,पुर्व सांसद लक्षमण राय,पुर्व संघीय सांसद रुहीनाज मिकरानी,मलंगवा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी साह,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना,भारतीय एसएसबी तथा भारतीय प्रहरीका प्रमुखहरु,विभिन्न पालिकाकाका प्रमुखहरु ,स्थानीय बुद्धिजीवी समाजसेवी ,मलंगवा न.पा अन्तर्गतका १२ वटै वडाका वडाअध्यक्षहरु,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायत नेपाल तथा भारतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
मलंगवा नाका भएर नेपाल प्रवेश गर्ने पर्यटकहरुको स्वागतको लागि अर्थमन्त्री यादवले राष्ट्रिय झण्डा सहितको पार्क निर्माण गराएर देशकै मान बढाएको भन्दै सम्पूर्ण नगरबासीहरुको तर्फबाट नगरप्रमुख यादवले उहाँलाई ४५ किलोको माला पहिर्याएर सम्मान गरेका थिए।
मलंगवाबासीको गौरवको रुपमा रहेको राष्ट्रिय झण्डा सहितको पार्कले दुबै देश बिचको धार्मिक,सांस्कृतिक र सामाजिक सम्बन्धलाई अझ धेरै प्रगाढ बनाएको नगरप्रमुख यादवले बताए।

प्रतिक्रिया दिनुहोस्: