Loktantra Khabar National Weekly
Ad

अमेरिकामा गत वर्ष धेरै बिक्री हुने एल्बममध्ये के-पपका आधा

लोकतन्त्र खबर
२६ पुष २०८०

काठमाडौं । के-पपको दबदबा यतिबेला विश्वव्यापी छ । अमेरिका कोरियाली संगीतको दोस्रो ठूलो अन्तर्राष्ट्रिय बजार बनेको खबर सन् २०२३ मै सार्वजनिक भइसकेको छ ।

दक्षिण कोरियाली पप–कल्चरको यो लोकप्रियता बुझ्न एउटा नयाँ तथ्यांक हेरे पुग्छ । यो तथ्यांकले कसरी के–पप अमेरिकी संगीत उद्योगमाथि प्रभावशाली बन्दैछ भन्ने पुष्टि गर्छ ।

सन् २०२३ मा अमेरिकामा सबैभन्दा बढी बिक्री हुने १० एल्बममध्ये आधा के–पपसँग सम्बन्धित छन् । नयाँ चार्ट डेटाका अनुसार ८ लाख प्रति एल्बम बिक्रीसँगै टेलर स्वीफ्टको १९८९ (टेलर्स भर्सन) यो सूचीको शीर्षस्थानमा छ ।

दोस्रो स्थानमा लोकप्रिय के–पप ब्याण्ड स्ट्रे किड्स छ । अघिल्लो वर्ष यो ब्याण्डको ‘फाइभ स्टार’ एल्बम ५ लाख २० हजार प्रति बिक्री भएको छ । सूचीको चौथो स्थानमा पनि सोही ब्याण्डको एल्बम ‘रक स्टार’ छ, जुन एल्बम अमेरिकामा ३ लाख ८१ हजार प्रति बिक्री भएको छ ।

तेस्रो स्थानमा पनि के–पप ब्याण्ड ‘टीएक्सटी’ छ जसको एल्बम ‘द नेम च्याप्टर : टेम्पेटसन’का ४ लाख ४२ हजार प्रति एल्बम बिक्री भएका छन् । पाँचौं स्थानमा रहेको ‘न्युजिन्स’को एल्बम ‘गेटअप’का ३ लाख ३२ हजार प्रति बिक्री छन् ।

छैटौं स्थानमा ‘ट्वाइस’, सातौंमा ‘सेभेन्टिन’, आठौंमा टेलर स्वीफट, नवौंमा पनि स्वीफ्टको टेलर भर्सन र दशौं स्थानमा बीटीएस गायक जङकुकको ‘गोल्डेन’ एल्बम छन् ।

सन् २०२३ मा चीनलाई उछिन्दै संयुक्त राज्य अमेरिका विश्वकै दोस्रो ठूलो के–पप संगीतको बजार बनेको हो । केही महिनाअघि सार्वजनिक गरिएको तथ्यांकमा गत वर्षको मध्यसम्म पूर्वी एसियाली मुलुक जापान के–पपको सबैभन्दा ठूलो बजार देखिएको छ ।

यो तथ्यांकअनुसार अमेरिकामा कोरियाली पप संगीतको बजार अझै बिस्तार हुँदै गएको देखिन्छ । वर्षको मध्यसम्म अमेरिकाका के–पप एल्बमको निर्यात अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

कोरिया भन्सार सेवाको आयात निर्यात व्यापार तथ्यांकअनुसार यस सन् २०२३ को जनवरीदेखि जुनसम्म एल्बम निर्यातको मात्रा १३२.९३४ मिलियन डलर (करिब १६८.५ अर्ब वन) रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.१ प्रतिशतले बढी हो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: