‘डंकी एक अवैध यात्राको बारेमा हो । धेरै मानिस आफ्नो देशबाट सिमाना पार गरेर विश्वभर पुग्छन् । उनीहरुको यात्रालाई डंकी भनिन्छ । हाम्रो देशबाट पनि त्यसरी मान्छे जान्छन् र अरु देशबाट पनि,’ शाहरुखले भनेका छन् ।
तर वास्तवमा यो विधि के हो ? भारतीयले यसलाई अमेरिका र बेलायतजस्ता देशमा प्रवेश गर्न र आफ्नो सपना बाँच्न कसरी प्रयोग गर्छन् ? डंकीको कथा यही वरपर घुमेको छ ।
डंकी उडान वा डंकी उडान विधिलाई आप्रवासीले लक्षित मुलुकभित्र प्रवेश गर्न पछाडिको (अवैध) बाटो प्रयोग गर्छन् । माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार यो शब्द पञ्जाबी भाषाबाट आएको हो जसको अर्थ एक ठाउँबाट अर्को ठाउँमा उडाउनु हुन्छ ।
सरल शब्दमा विदेशी मुलुकमा प्रवेश गरेर, त्यहाँको अध्यागमन नीतिको छिद्र पहिल्याएर एकपछि अर्को देशमा आप्रवासी बन्ने तरिका हो । उदाहरणका लागि भारतीयले बेलायतमा प्रवेश गर्न सेन्जेन–जोन देशको लागि पर्यटक भिसा प्राप्त गर्न सक्छन् । अमेरिकाको लागि दक्षिण अमेरिकी देशका लागि उडान भर्न सक्छन् । नेपालको स्थिति पनि ठीक यस्तै हो ।
यदि कोही पश्चिमी युरोपमा बस्न चाहन्छ भने (गत वर्षसम्म) उसले भिसा बिना सर्बियाको यात्रा गर्छ र ३० दिनसम्म बस्छ । त्यस अवधिमा एजेन्ट वा मानव तस्करले सर्बियादेखि इटालीसम्म ‘डंकी रुट’ नामक समुद्री यात्रा तय गराउँछन् । सर्बियाको एकातर्फ अस्ट्रिया, स्लोभेनिया र क्रोएसिया, अर्कोतर्फ म्यासेडोनिया र ग्रीस छन् । यसरी यहाँबाट, युरोपेली संघ (इयू) वा सेन्जेन देशहरूमा प्रवेश गर्न सजिलो छ ।
‘डंकी फ्लाइट’का यी घटना ओपन सेक्रेट हुन् । युट्युबमा ‘यूएसए डंकी’ भनेर सर्च गर्दा अवैध सीमा पार गर्नेबारेका हिन्दी र पञ्जाबी भिडियो प्रशस्त देखिन्छ । एउटा भ्लगले पनामाको जंगल हुँदै अमेरिकी सीमामा पुग्न लागेको एउटा समूहलाई देखाउँछ ।
‘डंकी फ्लाइट्स’को व्यवसाय पञ्जाबमा व्यापक रूपमा फैलिएको छ, जहाँ युवाको ठूलो जनसंख्या विदेश घुम्न र त्यहाँ बस्न चाहन्छ । यो व्यवसाय नजिकैको हरियाणा, उत्तर प्रदेश र हिमाञ्चल प्रदेशमा पनि फैलिएको छ । भारतको पश्चिमी राज्यबाट ठूलो संख्यामा मानिस विदेश जान खोज्दा यो व्यवसायले गुजरातमा पनि पकड जमाएको छ ।
‘डंकी फ्लाइट’ मुख्यतया राम्रो पैसा कमाउने र राम्रो जीवनयापन गर्ने सम्भावनाबाट प्रेरित हुन्छ ।
बेलायतको कभेन्ट्रीस्थित वारविक विश्वविद्यालयका प्राध्यापक विरिन्दर सिंह कालरा द वायर म्यागजिनसँग भन्छन्, ‘पञ्जाबी गायक तथा र्यापर सिद्धू मूसवालालाई उदाहरणको रूपमा हेर्नुहोस् । भारतमा उनको लागि जीवनको सम्भावना थिएन । त्यसपछि उनी क्यानडाको ब्राम्पटनमा सरे र करोडपति बने । त्यसैले सबैले विदेशमा सजिलै पैसा, छिटो पैसा कमाउने सोच्छन् । यो सपना मात्रै हो भन्ने कुरा थाहा भए पनि यसले उनीहरूलाई उत्प्रेरित गरेको देखिन्छ ।’
ठीक यस्तै प्रवृत्ति नेपालमा पनि देखिएको छ, जसले नेपाली दर्शकलाई उद्देलित तुल्याउने पक्का छ । किनभने निर्देशक राजकुमार हिरानीले आफ्ना फिल्ममा युनिभर्सल अपिलिङ बोक्ने कन्टेन्टलाई प्रस्तुत गर्छन् । ‘डंकी’ यो उनको पछिल्लो प्रयत्न हो । अनलाइन खबर

