Loktantra Khabar National Weekly
Ad

२ लाख घुस लिएको आरोपपछि राजीनामा

लोकतन्त्र खबर
२६ मंसिर २०८०

पोखरा । पोखरा महानगरपालिकामा रहेको न्यायिक समिति सदस्य भावना श्रेष्ठले राजीनामा दिएकी छिन् । उनीमाथि घुस लिएको आरोप छ ।
पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको थियो ।

रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा छ । उक्त विवाद मिलाइदिने भन्दै समितिको सदस्य रहेकी उनले २ लाखको चेक लिएको आरोप लागेको हो । श्रेष्ठले उपमेयर मन्जुदेवी गुरुङलाई समेत रकम दिनुपर्ने बताएकी थिइन् । गुरुङले उक्त आरोपको खण्डन गरेकी छिन् ।

विवादित भएपछि पोखरा वडा नम्बर ९ की वडा सदस्य श्रेष्ठले न्यायिक समितिबाट राजीनामा दिएकी छिन् । शनिवार नै उनले फेसबुकको म्यासेन्जरबाट राजीनामा पत्र पठाएको बताइएको छ । विशेष परिस्थितिका कारण राजीनामा दिएको भनेर उनले पत्र पठाएको उपमेयर तथा न्यायिक समितिकी संयोजक गुरुङले बताइन् ।

‘राजीनामा पत्र आएको छ । विशेष परिस्थितिको कारण भन्नुभएको छ, अरु कारण खुलेको छैन,’ उनले भनिन् । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: