Loktantra Khabar National Weekly
Ad

अरिजित सिंहको कन्सर्टपछि नेपाली संगीतवृत्तमा कस्तो बहस चल्दैछ ?

लोकतन्त्र खबर
१२ मंसिर २०८०

काठमाडौं । भारतीय गायक अरिजित सिंहको ‘सफल र भव्य’ भनिएको काठमाडौं कन्सर्टपछि नेपाली संगीतवृत्तमा बहस उठेको छ । नाम चलेका नेपाली गायक-गायिकाले सामाजिक सञ्जालमार्फत अरिजित सिंहको कन्सर्ट लक्षित टिप्पणी राखिरहेका छन् ।

बहसको केन्द्रमा सोधिएको प्रश्न छ- आखिर नेपाली कन्सर्ट चाहिं यसरी भव्य र सफल किन हुँदैनन् ?

यो बहसको सुरुवात चाहिं गायिका प्रीति कौरबाट भएको देखिन्छ । उनले नेपाली कन्सर्ट किन सफल छैनन् भन्नेतर्फ आफ्ना चारबुँदे धारणा पेश गरेकी छन् । कलाकारलाई उनीहरुको योग्यताअनुसार पारिश्रमिक हुन धौधौ हुने उनको मत छ ।

अयोग्य कलाकारलाई भाइरल बनाइदिने तर योग्य कलाकार चुपचाप बस्नुपर्ने नियति रहेको धारणा कौरको छ । एकले अर्कोलाई मद्दत नगर्ने भन्दै उनको तेस्रो टिप्पणी छ । उनले यो परिस्थितिमा आयोजक पनि जिम्मेवार रहेको दोष लगाएकी छन् ।

‘अनि जो पनि अर्गनाइजर । बिगार्ने कलाकार मात्र होइन, अर्गनाइजर पनि हुन् । यदि पैसा कलाकारलाई तिर्न सक्दैन भने कार्यक्रम नै किन गर्ने ? विडम्बना, मेहनत गर्ने कलाकार होइन, टिकटक र सामाजिक सञ्जालमा लाइक नम्बर र लाइक्सको आधारमा स्टेजमा बोलाइन्छ । चाहे जस्तोसुकै गाउँ र गल्ली पनि हामी सबैको होइन र ? त्यसपछि अर्गनाइजर पनि त्यस्तै छन्,’ कौर लेख्छिन् ।

गायक राजेशपायल राईले अरिजित सिंहले काठमाडौं कन्सर्टको समयमा काँधको नेपालको राष्ट्रिय झण्डा बोकेर गीत गाएको तथा इण्डियन आइडलमा बलिउड अभिनेता रणवीर कपुरले नेपालकी मेनुका पौडेलको पाउ छोएर साक्षात् देवी भनेको सन्दर्भसहितको तस्वीर पोस्ट गरेका छन् ।

यो पोस्टमा उनको क्याप्सन छ- ‘अरिजित सिंहले नेपाली झण्डा ओढे जसरी या रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आशीर्वाद मागे जसरी त्यसरी नै हामी कलाकारले भारतमा, भारतको झण्डा या कुनै पनि देशमा प्रस्तुति दिंदा त्यही देशको झण्डा बोकेको भए हामीले माफी र गाली पाउँथ्यौ कि नाइँ ? जिज्ञासा । प्रतिक्रिया पाऊँ । आउँदा दिनमा सहजता मिल्नेछ या आफू मर्जी । सायरेम ।’

राजेशपायलको यो भनाइलाई अभिनेत्री सुरक्षा पन्तले सोचनीय भन्दै धारणा राखेकी छन् । मोडल तथा अभिनेत्री गरिमा शर्माले ‘देशद्रोही भन्नु हुन्थ्यो धेरैले,’ भन्दै लेखेकी छन् । कमेडियन सन्दीप क्षेत्रीले सबैको कला र कलाकारलाई लिएर ठूलो मन बनोस्,’ लेखेका छन् । उनको यो पोस्टलाई अन्य केही सेलिब्रिटीले सेयर पनि गरेका छन् ।

रकस्टार अभया सुब्बाले अरिजितको कन्सर्टपछि सामाजिक सञ्जालमा आएका कुरालाई लिएर धारणा राखेकी छन् । खासगरी नेपाली कन्सर्ट किन सफल हुँदैनन् भन्नेबारेमा चलेको बहसलाई लिएर अभयाको कुरा आएको देखिन्छ । पाँचबुँदे धारणामा अभयाले नेपाली कलाकार पनि विदेशी कलाकारजस्तै अब्बल रहेको बताएकी छन् ।

नेपाली संगीतकार ग्रीनरुममा भोड्का र स्कच पिएर बिग्रिएको भन्ने कतिपयको कुरामा अभया क्रुद्ध सुनिएकी छन् । उनले ग्रीनरुमलाई घण्टौं लामो प्रस्तुतिको थकानपछि आराम गर्ने थलोको रुपमा व्याख्या गरेकी छन् । प्रयोग गरेर छाड्ने प्रवृत्तिले नेपाली संगीत क्षेत्रको विकास हुन नसकेको उनको भनाइ छ ।

नेपाली कलाकारका लागि राम्रो पारिश्रमिक पनि जरुरी रहेको उनको धारणा छ । नेपाली कलाकारभित्र रहेको अनादर र उदासीनताको संस्कृतिलाई संगीतमा लगानी गर्नेतर्फ प्रेरित हुनुपर्नेमा अभयाले जोड दिएकी छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: