लोकतन्त्र समाचारदाता–
सर्लाही २६ फागुन । समानुपातिक मतदान तर्फ सर्लाहीको चारवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल (रास्वपा) ले १ लाख ८८ हजार ३ सय ७१ मत प्राप्त गरि इतिहास रचेका छन । संघीय लोकतन्त्र गणतन्त्र स्थापना पछि भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा रास्वपाले हाल सम्मकै बढि समानुपातिक मत प्राप्त गरेको छ ।
समानुपातिक मतदानमा जम्मा खसेको सदर मत मध्ये रास्वपाले ४२ प्रतिशत मत प्राप्त गर्न सफल भएको छ, भने २० प्रतिशत समानुपातिक मतदानमा बाकी अन्य पार्टीहरु रहेका छन । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नं. १ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यन्त लोकप्रिय मत प्राप्त गरेको छ ।
सोमबार साँझ समानुपातिकतर्फको मतगणना सकेर सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार रास्वपाले यहाँबाट ४६ हजार ४४१ मत प्राप्त गरेको हो । समानुपातिकमा पार्टीले प्राप्त गरेको मत प्रत्यक्षतर्फ निर्वाचित पार्टीका उम्मेदवार नीतिमा भण्डारी कार्कीले प्राप्त गरेको भन्दा दुई हजार २६० मतले बढी हो ।
भण्डारी ४४ हजार १८१ मत प्राप्त गर्दै निर्वाचित भएकी थिइन् । सर्लाही १ मा समानुपातिकतर्फ दोस्रो धेरै मत नेपाली कांग्रेसले प्राप्त गरेको छ । कांग्रेसले यस क्षेत्रबाट समानुपातिकमा छ हजार ३६५ मत प्राप्त गरेको छ ।
जुन मत पार्टीका उम्मेदवार शम्भुलाल श्रेष्ठले प्राप्त गरेको भन्दा एक हजार ५०६ मतले कम हो ।
समानुपातिकतर्फ सर्लाही १ मा नेकपा एमालेले चार हजार ६२९, नेपाली कम्युनिष्ट पार्टीले चार हजार १९१, कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग सहकार्य गरेको बाँसुरी चुनाव चिन्ह भएको राष्ट्रिय परिवर्तन पार्टीले तीन हजार ४७२, जनता समाजवादी पार्टी नेपालले दुई हजार ८३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक हजार २३०, जनमत पार्टीले एक हजार ९० मत प्राप्त गरेका छन् ।
सर्लाही १ मा समानुपातिकतर्फ ७९ हजार ४९० मत खसेकोमा तीन हजार ४८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनायो ।
त्यस्तैसमानुपातिकतर्फ सर्लाही क्षेत्र नं. २ को अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
प्रत्यक्ष उम्मेदवार रविन महतोले प्राप्त गरेको भन्दा ५ हजार १३७ ले बढी अर्थात ४७ हजार ६४९ मत पाएको हो । ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत अन्य केही पार्टीले भने प्रत्यक्ष उम्मेदवारले पाएको भन्दा कम मत पाएका छन् । त्यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेसले ६ हजार ३६ मत पाएको छ ।
कांग्रेसका प्रत्यक्ष उम्मेदवार डा. सरोज कुमारले भने ७ हजार ३९ मत ल्याएका थिए । नेपाली कम्युनिष्ट पार्टी ५ हजार ७९७ मतसहित तेस्रो स्थानमा छ । उसको प्रत्यक्ष उम्मेदवार महिन्द्र राय यादवले ८ हजार ५२३ मत प्राप्त गरेका थिए ।
चौथो स्थानमा एकल चुनाव चिन्ह जाँतोले ४ हजार ५७६ मत पाएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल÷जनता समाजवादी पार्टी÷नागरिक उन्मुक्ति पार्टी, नेपाल मिलेर जाँतो चुनाव चिन्हमा प्रत्यक्ष उम्मेदवार राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ५ हजार ९९२ मत पाएका थिए ।
एकल चुनाव चिन्ह बसले ३ हजार ४४१ मत ल्याएको छ । नेपाल संघीय समाजवादी पार्टी÷बहुजन एकता पार्टी नेपाल÷नेपाल जनजागृति पार्टी मिलेर बस छापका प्रत्यक्ष उम्मेद्वार रजी अहमद्ले २ हजार २८३ मत हाँसिल गरेका थिए ।
नेपालका लागि नेपाली पार्टीले १ हजार ९६३ मत पाएको छ । उसको प्रत्यक्ष उम्मेदवार कृष्ण यादवले २ हजार २२७ मत प्राप्त गरेका थिए । नेकपा एमाले १ हजार ८०७ मत सहित सातौं स्थानमा रहेको छ । एमालेका प्रत्यक्ष उम्मेदवार नागेश्वर साहले १ हजार ४६३ मत ल्याएका थिए । मधेशवादी दलको रुपमा परिचित जनता समाजवादी पार्टी नेपालले १ हजार २०९ मत मात्र पाएको छ ।
उसको प्रत्यक्ष उम्मेदवार भरत चौधरीले ५१८ मत मात्र ल्याएका थिए । अर्को मधेशवादी दलको रुपमा २०७९ को निर्वाचनबाट उदाएको जनमत पार्टीले ८९२ मत मात्र पाएको छ । उसका प्रत्यक्ष उम्मेदवार विपीन कापरले ७५६ मत पाएका थिए ।
मधेशवादको नारा उरालेर २०६४ सालको संविधान सभा निर्वाचनबाट उदाएको जसपा नेपाल र २०७९ को निर्वाचनबाट उदाएको जनमतले ‘कोर’ मधेश क्षेत्रबाट आठौं र नवौं स्थानमा मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४०८ मत प्राप्त गरेको छ ।
उसको प्रत्यक्ष उम्मेदवार राजकिशोर राय यादवले १४३ मत ल्याएका थिए । यसै निर्वाचनमा पहिलो पटक सहभागि भएपनि चर्चामा रहेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ५३ मत पाएको छ भने कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले मत मागेको बाँसुरीमा २६ मत परेको छ । यस क्षेत्रबाट विभिन्न ५७ राजनैतिक दलले ४ मत देखि ४७ हजार ६४९ मत पाएका छन् ।
त्यस्तै समानुपातिकतर्फ सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । अन्तिम मत परिणाम अनुसार उसले ४८ हजार ७६५ मत पाएको हो । निर्वाचन अघिका ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत अन्य केही पार्टीले भने प्रत्यक्ष उम्मेदवारले पाएको भन्दा कम मत पाएका छन् ।
यसै निर्वाचनमा पहिलो पटक भाग लिएका उज्यालो नेपाल पार्टीका नेताहरुले मागेको बाँसुरी चिन्हमा उसको प्रत्यक्ष उम्मेद्वार भन्दा झण्डै दोब्बर बढी मत परेको छ । हर्क साम्पाङको श्रम संस्कृति पार्टीले तेहेरो अंकको मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमालेले क्रमशः दोस्रो र तेस्रो मत पाएका छन् ।
नेपाली कांग्रेसलाई उछिन्दै उज्यालो नेपाल पार्टीका उम्मेद्वारले मागेको बाँसुरी चिन्हमा चौथो बढी मत परेको छ । यस क्षेत्रबाट विभिन्न ५७ राजनैतिक दलले ५ मत देखि ४८ हजार ७६५ मत पाएका छन् ।
समानुपातिकमा ८१ हजार ९१६ मत खसेकामा ७९ हजार ९३ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ३ ले जनाएको छ । क्षेत्र नं. ४ मा समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लोकप्रिय मत पाएको छ ।
रास्वपाले यहाँ प्रत्यक्षतर्फबाट निर्वाचित आफ्ना सांसद डा. अमरेशकुमार सिंहले प्राप्त गरेको भन्दा समानुपातिकमा १० हजार बढी मत प्राप्त गरेको छ । यहाँबाट समानुपातिकमा रास्वपालाई ४५ हजार ५१६ मत परेको हो । जबकी प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य सिंहलाई ३५ हजार ६८८ मत प्राप्त भएको थियो ।
यहाँ नेपाली कांग्रेसले भने समानुपातिकतर्फ आफ्ना उम्मेदवार गगनकुमार थापाले प्राप्त गरेको भन्दा ४ हजार कम मत प्राप्त गरेको छ । कांग्रेसले सर्लाही ४ बाट समानुपातिकमा १८ हजार ८१ मत प्राप्त गरेको छ । पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार गगनकुमार थापाले भने २२ हजार ८३१ मत प्राप्त गरेका थिए ।
प्रत्यक्षतर्फ डा. सिंहले प्राप्त गरेको र समानुपातिकतर्फको मत हेर्दा समानुपातिकमा रास्वपामा मतदान गरेका केही मतदाताले प्रत्यक्षतर्फ भने कांग्रेस सभापति थापालाई मतदान गरेको आँकलन गर्न सकिन्छ । सर्लाही ४ मा समानुपातिकतर्फ नेकपा एमालेले ५ हजार ५३६, जनमत पार्टीले १ हजार ५९० र नेपाली कम्युनिष्ट पार्टीले एक हजार २१५ प्राप्त गरेको देखिन्छ ।
समानुपातिकतर्फ सर्लाही ४ मा ७८ हजार ८१ मत खसेकोमा ७५ हजार ४६३ मत मात्र सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस आकलन अनुसार सर्लाही क्षेत्र नं. १ मा समानुपातिक मतदानमा रास्वपा पहिलो, दोस्रो कांग्रेस र तेस्रोमा नेकपा एमाले छन ।
क्षेत्र नं.२ मा पनि रास्वपा पहिलो कांग्रेस दोस्रो भएको छ । ३ मा रास्वपा पहिलो हो, भने यस क्षेत्रमा अन्य पार्टीको हकमा मिश्रित मतदान भएका छन । क्षेत्र नं. ४ मा पनि रास्वपा पहिलो दोस्रोमा कांग्रेस र तेस्रोमा नेकपा एमाले रहेका छन ।

