वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचन २०८२ मा पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले विजय हासिल गरेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार कानुले ३० हजार ७ सय ४० मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नेता तथा पूर्व कानुन मन्त्री अजय कुमार चौरसियालाई १८ हजार ८ सय ५० मतको फराकिलो अन्तरले पराजित गरेका छन् । चौरसियाले ११ हजार ८ सय ९० मत प्राप्त गरेका थिए ।
पहिलो पटक संसदीय निर्वाचन लडेका कानुले युवा नेतृत्वको सशक्त प्रदर्शन गर्दै संसद् प्रवेश गरेका छन् । उनी पर्सा जिल्लाबाट निर्वाचित सबैभन्दा कान्छा सांसद समेत बनेका छन् । तेस्रो स्थानमा नेकपा (एमाले) की रीमा कुमारी यादव रहेकी छन् । गैरराजनीतिक पृष्ठभूमिबाट आएकी यादवले मनोनयनको एक दिनअघि मात्र टिकट पाएकी थिइन् । यादवले ११ हजार ६ सय ५ मत ल्याएकी छन् । उनको टिकट वितरणमा पैसा र पहुँचको प्रयोग भएको भन्दै आलोचना समेत भएको थियो ।
चौथो स्थानमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक कुमार टेमानीले २ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बिना जयसवालले १ हजार ९ सय ९९ मत ल्याएकी छन् । जयसवाल यसअघि समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भइसकेकी छन् । सुशील कुमार कानुको राजनीतिक यात्रा स्थानीय तहबाट सुरु भएको हो । उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष हुन् । वडाध्यक्ष पदबाट राजीनामा दिएर उनले निर्वाचन लडेका थिए । यसअघि उनी एक कार्यकाल वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य पनि रहिसकेका छन् ।
कानुको जीतलाई युवा पुस्ताको जीतको रूपमा हेरिएको छ । उनले मुख्य एजेन्डाका रूपमा रोजगारी सिर्जना, शिक्षा सुधार, सुशासन, स्वास्थ्य सेवा विस्तार, भौतिक पूर्वाधार विकास र नीतिगत सुधार लाई अघि सारेका थिए । नतिजाले पर्सा–२ मा परिवर्तनको लहर आएको सङ्केत गरेको छ । यस क्षेत्रमा पहिले नेपाली काँग्रेस र अन्य परम्परागत दलहरूको प्रभाव रहे पनि रास्वपाको उदयले नयाँ राजनीतिक समीकरण देखाएको छ । सौजन्य यात्रा डेली

