Loktantra Khabar National Weekly
Ad

सर्लाही १, २ र ३ मा रास्वपा जीत नजिक

लोकतन्त्र खबर
२३ फाल्गुन २०८२

रास्वपाबाट सर्लाही १, २ र ३ का उम्मेदवारहरु क्रमश : नितिमा भण्डारी कार्की, रविन महतो र नरेन्द्र साह कलवार । लालबन्दी, २३ फागुन – सर्लाहीको तीन वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जीत उन्मुख भएका छन् ।

क्षेत्र नं. १, २ र ३ मा रास्वपाका उम्मेदवारले निकै फराकिलो मतान्तर कायम गर्दै बिजयी नजिक पुगेका हुन् । क्षेत्र नं. १ मा रास्वपाकी उम्मेदवार नितिमा भण्डारी कार्की दोस्रो स्थानमा रहेका प्रतिस्पर्धी भन्दा २० हजार बढी मतले अगाडि छिन् । आज बिहानको मतपरिणाम अनुसार रास्वपाकी भण्डारीले २४ हजार १८६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले तीन हजार ६३४ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका मनोजकुमार देवकोटाले तीन हजार ३३७, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साहले तीन हजार दुई र जनता समाजवादी पार्टीका रामप्रकाश चौधरीले दुई हजार ७४१ मत प्राप्त गरेका छन् ।

सर्लाही क्षेत्र नं. १ मा आज बेलुकासम्म अन्तिम मत परिणाम सार्वजनिक गर्ने गरी फटाफट मतगणना भइरहेको निर्वाचन अधिकृत टीकाबहादुर थापाले उज्यालो अभियानसँग बताए । थापाका अनुसार क्षेत्र नं. १ मा चार समूह बनाएर मतगणना भइरहेको छ । यस्तै क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रबिन महतोले अन्य प्रतिस्पर्धी भन्दा १३ हजार बढी मतको अग्रता कायम गरेका छन् । रास्वपाका महतोले १७ हजार ६५५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्र राय यादवले तीन हजार ८९२ र राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले दुई हजार ११० मत प्राप्त गरेका छन् ।

यसैगरी सर्लाही क्षेत्र नं. ३ मा समेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साह कलवार १२ हजार ९९५ मतले अगाडि छन् । आज बिहानसम्मको मतपरिणाम अनुसार यहाँ रास्वपाका कलवारले १८ हजार ९८५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले पाँच हजार ९९० मत प्राप्त गरेका छन् । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका विनोदकुमार खनालले दुई हजार ६६० र नेकपा एमालेका हरिप्रसाद उप्रेतीले दुई हजार ४३ मत प्राप्त गरेका छन् । देशभरमा झैँ सर्लाहीमा यो पटक शीर्ष नेताहरुलाई निकै कमजोर मत प्राप्त भइरहेको छ भने रास्वपामा नयाँ अनुहारका रुपमा चुनावी मैदानमा आएका उम्मेदवारलाई समेत पपुलर भोट प्राप्त भइरहेको छ । सौजन्य उज्यालो अभियान

प्रतिक्रिया दिनुहोस्: