Loktantra Khabar National Weekly
Ad

अमेरिकी रक्षा मन्त्रालयसँग ओपनएआईले गयो सम्झौता

लोकतन्त्र खबर
१७ फाल्गुन २०८२

वासिङ्टन डीसी । कृत्रिम बौद्धिकता (एआई) बनाउने कम्पनी ओपनएआईले अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) सँग आफ्ना एआई उपकरण सैन्य प्रणालीमा प्रयोग गर्ने सम्झौता गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानले शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन् । यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकका एआई उपकरणहरू सङ्घीय सरकारी निकायहरूले प्रयोग गर्न बन्द गर्न निर्देशन दिएकै दिन सार्वजनिक भएको हो । रक्षामन्त्री पिट हेगसेथले एन्थ्रोपिकलाई आपूर्ति शृङ्खलामा जोखिमको रूपमा वर्गीकृत गरेपछि सरकारी निकायहरूलाई उक्त कम्पनीको प्रविधिबाट टाढा रहन भनिएको थियो । सामान्यतया यस्तो वर्गीकरण विदेशी प्रतिद्वन्द्वीहरूसँग प्रत्यक्ष सम्बन्ध भएका कम्पनीहरूका लागि प्रयोग गरिन्छ ।

एन्थ्रोपिकले भने आफ्नो एआई स्वचालित हतियार प्रणाली र अमेरिकी नागरिकमाथिको व्यापक निगरानीमा प्रयोग गर्न नहुने अडान राख्दै आएको थियो । कम्पनीले आफू विरुद्धको निर्णयलाई कानुनी रूपमा चुनौती दिने घोषणा पनि गरेको छ । यसैबिच अल्टम्यानले पेन्टागनसँग भएको सम्झौतामा कडा सुरक्षा र नैतिक मापदण्डहरू समावेश गरिएको दाबी गरेका छन् । उनका अनुसार ओपनएआईका दुई प्रमुख सिद्धान्त, घरेलु स्तरमा व्यापक निगरानीमा प्रतिबन्ध र बल प्रयोगसम्बन्धी निर्णयमा मानव जिम्मेवारी सम्झौतामा स्पष्ट रूपमा राखिएको छ । रक्षा मन्त्रालयले यी सिद्धान्तहरूलाई कानुन र नीतिमा प्रतिबिम्बित गरेको पनि उनले बताएका छन् । ओपनएआईले आफ्ना मोडेलहरू अपेक्षित रूपमा व्यवहार गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न प्राविधिक सुरक्षा संयन्त्र विकास गर्ने र पेन्टागनमा अग्रपङ्क्तिमा इन्जिनियरहरू पठाउने योजना रहेको अल्टम्यानले बताए ।

साथै उनले रक्षा मन्त्रालयलाई यस्तै सर्तहरू सबै एआई कम्पनीहरूलाई प्रस्ताव गर्न आग्रह गरिएको उल्लेख गर्दै कानुनी विवादभन्दा सहमतिमा आधारित समाधानतर्फ जानुपर्ने धारणा व्यक्त गरे । पेन्टागनका प्रविधि हेर्ने अन्डर सेक्रेटरी एमिल माइकलले पनि एक्समा प्रतिक्रिया दिँदै जीवन–मरणसँग जोडिएका सैनिक निर्णयहरूमा विश्वसनीय र सहकार्य गर्न तयार साझेदार आवश्यक हुने बताए । यद्यपि, ओपनएआई र एन्थ्रोपिकबिच वास्तविक रूपमा के फरक सर्तहरू छन् भन्ने अझै स्पष्ट भएको छैन । यस विषयमा पेन्टागन र ओपनएआईसँग थप स्पष्टीकरण माग गरिएको भए पनि विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: